logo
२०८० चैत्र १५ बिहीवार



रानीपोखरी क्षेत्रको बृहत्तर गुरुयोजना कार्यान्वयनतिर

राष्ट्रपतिबाट पुनर्निर्मित रानीपोखरी र दरबार हाइस्कुल उद्घाटन

मुख्य समाचार |


रानीपोखरी क्षेत्रको बृहत्तर गुरुयोजना कार्यान्वयनतिर


भउचप्रसाद यादव

काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मल्लकालीन शैलीमा पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको बुधबार ताम्रपत्र अनावरण गरी उद्घाटन गर्नुभएको छ । पाँच वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि रानीपोखरीको पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणपछि रानीपोखरी क्षेत्र सांस्कृतिक चाडपर्व मनाउन आउने र स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ ।
रानीपोखरी परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पूजाको आरती लिनुका साथै विभिन्न तीर्थस्थल, नदी र कुण्डबाट ल्याइएको जल रानीपोखरीमा अर्पण गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतले पनि पोखरीमा जल अर्पण गर्नुभएको थियो ।
त्यस अवसरमा बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठा र क्षमापूजा गरिएको थियो । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले तिहारमा त्यहाँ गएर भाइटीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ ।
समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौँठेजोरी खेल्दै ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरूप र प्रविधिमा पुनर्निर्माण भएको बताउनुभयो । पुनर्निर्माणको सुरुवात गरिएको झन्डै पाँच वर्षको अवधिमा निर्माण पूरा भएको हो । भूकम्प गएकै साल २०७२ माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।
राष्ट्रपतिले भन्नुभयो, ‘‘जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । आज रानीपोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पूरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ ।’’
उहाँले भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाको पुनर्निर्माण पनि योजनाबद्ध रूपमा छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुराताìिवक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको भनाइ राष्ट्रपतिको छ ।
उहाँले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति रानीपोखरीको पुनर्निर्माण एउटा महìवपूर्ण कोसेढुङ्गा साबित भएको विश्वास व्यक्त गर्नुभयो ।
सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गरी व्यावहारिक जीवनमा फर्काउनका लागि संवत् १७२६ मा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गर्न लगाउनुभएको थियो । जङ्गबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गरिएको थियो । १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै पुनर्निर्माण गरिएको थियो ।
गत असोज १५ गते बालगोपालेश्वर मन्दिरको शीर्ष भागमा १२३.७ किलोग्राम तामाबाट निर्मित सुनको जलप लगाइएको गजुर स्थापना गरिएको थियो । रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपियाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रङ्शाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको बृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, ‘‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ । यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रूपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु । ’’

दरबार हाइस्कुलको उद्घाटन
रानीपोखरीपछि राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनको सहयोगमा पुनर्निर्मित दरबार हाइस्कुलको समेत उद्घाटन गर्नुभयो । यसअघि रानीपोखरीको उद्घाटनका क्रममा उहाँले त्यसबखत विद्यालयहरू खुल्न नसकिरहेको परिवेशमा उक्त हाइस्कुल स्थापना भएपछि मुलुकमा शैक्षिक चेतना र जागरणका क्षेत्रमा नयाँ आयाम थपिएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ । ’’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यही मङ्सिरभित्र सिंहदरबारको मुख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो । यस्तै उहाँले यही पुस महिनाभित्र २२ तलासहित धरहराको मूल संरचना सम्पन्न गर्ने विश्वास पनि दिलाउनुभयो ।

दरबार स्कुल हस्तान्तरण
राष्ट्रपति भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन गर्नुभयो । राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गर्नुभएको हो । भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिनुभयो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको
सहभागिता थियो ।
त्यसै अवसरमा विद्यालय भवन निर्माण गर्ने चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । त्यसपछि उक्त साँचो काठमाडौँ महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरियो । चीन सरकारको ८५ करोड रुपियाँको सहयोगमा निर्माण सम्पन्न भएको भवन चारतले छ । साढे नौ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् । यस विद्यालयमा एकै पटक
आठ सय विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?