logo
२०८१ बैशाख ७ शुक्रवार



सुदूरपश्चिम प्रदेश सरकारले हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्दै

प्रदेश |


सुदूरपश्चिम प्रदेश सरकारले हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्दै


लोकेन्द्र जोशी

दार्चुला, कार्तिक ४ गते । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्कर र गाउँमा खाद्यान्न ढुवानी गर्न थालेको छ । माउण्टेन एयरको हेलिकोप्टरमार्फत मंगलबारदेखि खाद्यान्न ढुवानी गर्न थालेको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि ४५ लाख रुपैया बजेट उपलब्ध गराएको छ । पहिलो चरणमा एक सय ८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले जानकारी दिनुभयो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानी भइरहेको छ ।

स्थानीयवासीको मागका आधारमा दुबै गाउँमा खाद्यान्न ढुवानी भैरहेको व्यास गाउँपालिका वडा नम्बर १ को कार्यालयले जनाएको छ । दशैँअघि नै खाद्यान्न पु¥याउने लक्ष्यअनुसार तयारी गरिएको वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । छाङरु र तिङ्कर गाउँका झण्डै दुई सय घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पु¥याउन लागिएको हो । मंसिर पहिलो साता व्यासीहरु दार्चुला सदरमुकाम खलंगा बसाई सर्ने भएकोले कम्तिमा एक महिनाका लागि पुग्ने खाद्यान्न ढुवानी गर्न लागिएको हो । यसअघि गत असारमा मात्रै व्यासमा चामल ढुवानी गरिएको थियो ।

स्थानीयवासीले व्यासको लागि तत्काल खाद्यान्न ढुवानी गर्न पटक–पटक माग गर्दै आएका थिए । असोज १९ गते व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको घोडेटो बाटो उद्घाटन गर्न दार्चुला पुग्नुभएका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको दाबी गर्नुभएको थियो । चालु आर्थिक वर्षमा व्यास क्षेत्रको पुर्वाधार विकासका लागि भन्दै सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको व्यासका स्थानीय एबं प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले बताउनुभयो ।

सुरक्षित बाटो नहुदा दार्चुलाको बजारबाट व्याससम्म खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन् । घाँटीबगर ईलाकामा नेपाली सेनाले घोडेटो बाटो निर्माण गरेपनि तम्बाकु भीरमा बाटो अवरुद्ध छ । नेपाली सेनामार्फत भएपनि सदरमुकाम बसाई सर्नुभन्दा पहिले तम्बाकु भीरमा बाटो निर्माण गरिदिन व्यासवासीले सरकारसंग अनुरोध गरेका छन् । विगत वर्षहरुमा भारतीय बजारबाट खाद्यान्न किन्ने गरेका व्यासवासीले यो वर्ष कोरोना भाइरसको जोखिमका कारण सीमा नाका बन्द गरेपछि खाद्यान्न अभाव झेल्नुपरेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?