logo
२०८० चैत्र १५ बिहीवार



बाँकेमा बुधबार ३४ जना कोरोनामुक्त भएर घर फर्किए

पढ्नै पर्ने |
प्रदेश |


बाँकेमा बुधबार ३४ जना कोरोनामुक्त भएर घर फर्किए
सङ्क्रमणमुक्त भएर घर फर्किंदै । तस्बिरः सिराज खान । नेपालगञ्ज


सिराज खान
नेपालगञ्ज, असोज १४ गते । कोरोना सङ्क्रमण भएर बाँके जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा रहनुभएका १७ महिलासहित ३४ जना सङ्क्रमणमुक्त भई बुधबार घर फर्किनु भएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार भदौ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसनमा रहनुभएका उहाँहरूलाई कुनै स्वास्थ्य समस्या नदेखिएपछि बुधबार डिस्चार्ज गरेर घर पठाइएको हो ।
उहाँले हाल आएर सङ्क्रमित हुने भन्दा निको भएर घर फर्किनेहरूको सङ्ख्या बढी देखिएको बताउनुभयो । पछिल्लो समयमा किटको अभाव र लक्षण नदेखिएकाहरूको परीक्षण नगरिँदा सङ्क्रमितहरू पहिलेको तुलनामा कम भेटिएको श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समयमा सङ्क्रमित भेटिएकाहरूमा अधिकांश बिरामी रहेकोले सचेत तथा सावधान रहँदै मास्क, सेनेटाइजर र भौतिक दुरीमा ध्यान दिन सर्वसाधारणलाई पटक पटक आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार हालसम्म बाँके जिल्लामा एक हजार ८८७ जना कोरोना सङ्क्रमित देखिएकोमा उपचारपछि एक हजार ५४१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आइसोलेसनमा अझै पनि ३३१ जना भर्ना रहेका छन् ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बाँकेमा सङ्क्रमित निको हुने प्रतिशत बढेर ८१.६६ प्रतिशत पुगेको जनाउँदै सङ्क्रमितको मृत्यु दर ०.७९ प्रतिशत रहेको र रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको बताउनुभयो ।
उहाँले हालसम्म जिल्लामा चार महिलासहित १५ जनाको कोरोनाबाट उपचारकै क्रममा मृत्यु भइसकेको बताउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?