logo
२०८० चैत्र १६ शुक्रवार



बढ्न थाल्यो उपत्यकामा भीडभाड

फिचर |
पढ्नै पर्ने |


बढ्न थाल्यो उपत्यकामा भीडभाड
फाइल तस्विर


काठमाडौँ, असोज १३ गते । कोभिड–१९ को जोखिमबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ ।

बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ ।

उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको सङ्क्रमण दर बढेको बताउनुभयो । “हामी उपत्यकाको नाका खोल्न नहुने पक्षमै थियौँ, सरकारलाई सुझाव पनि दिएको हो, तर कार्यान्वयन नहुँदा भीडभाड र सङ्क्रमण दर बढेको छ”, उहाँले रासससँग भन्नुभयो, “उपत्यका र अन्य जिल्लामा एउटै नियम लागू गर्नुहुन्न भन्ने पक्षमा हामी छौँ ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधान उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेको छ । सोमबार उपत्यकामा चार हजार ५८३ सवारीमा १९ हजार ९०० यात्रु भित्रिएका थिए । चार हजार ६९८ सवारीमार्फत २० हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । फलस्वरुप भीडभाड बढेको महसुस भएपछि आजदेखि भने विशेष आदेशको पूर्ण कार्यान्वयनमा लागेको उपत्यकाको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालनमा छ । सार्वजनिक सवारी साधनले पनि आधा मात्रै यात्रु राखेर हिँड्न पाउँछन् । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सवारी चलाउन भनिएको छ । सबै सवारीले पूर्णरुपमा आदेश लागू गरेका छैनन् भने जोर बिजोर प्रणालीसमेत बेपरवाह भएको पाइएको प्रहरीले जनाएको छ । प्रमुख श्रेष्ठले जोरबिजोर प्रणाली अहिले कागजमै सीमित भएको बताउनुभयो । त्यसकारण पनि उपत्यकामा भीडभाड बढेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल एक÷दुई दिन केही खुकुलो हुँदा सवारी बढेको पाइएकाले आजदेखि जोरबिजोरको पूर्ण कार्यान्वयनमा प्रहरी परिचालन गरिएको बताउनुभयो । आज मध्याह्नसम्ममा मात्रै उपत्यकामा एक हजार १०० सवारीलाई कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक र भौतिक दूरी कायम नगर्ने सवारी साधानलाई कारवाही तीव्र पारिएको छ । तोकिएभन्दा बढी भाडा लिएको, बढी यात्रु राखेको तथा स्वास्थ्यमापदण्ड प्रयोग नगरेको पाइएमा पनि सवारीलाई कारवाही गरिने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने गरेको विवरण अनुसार देशभर कोरोना सङ्क्रमित मानिसको झण्डै आधा उपत्यकाका व्यक्ति छन् ।

त्यसैले उपत्यकाको भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । त्यसका लागि पहिलो शर्त भनेको भीडभाड रोक्नु, भौतिक दूरी कायम गराउनु र स्वास्थ्यमापदण्ड पूर्णरुपमा लागू गराउनु नै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?