logo
२०८१ बैशाख १३ बिहीवार

 लुम्बिनी बौद्ध विश्वविद्यालय 



“डोर टु डोर” परीक्षाले विद्यार्थी खुसी: मागेकै स्थानमा परीक्षा केन्द्र

पढ्नै पर्ने |


“डोर टु डोर” परीक्षाले विद्यार्थी खुसी: मागेकै स्थानमा परीक्षा केन्द्र


लक्ष्मण पौडेल

भैरहवा, असोज १ गते । कोरोना भाइरसको महामारीका कारण लुम्बिनी बौद्ध विश्वविद्यालयले 'डोर टु डोर' परीक्षा सञ्चालन गरेपछि विद्यार्थीहरु खुसी देखिएका छन् । कोरोना संक्रमणको जोखिमले सुरुमा त्रास उत्पन्न भएपनि परीक्षामा अपनाइएको उच्च स्वास्थ्य सतर्कताले उनीहरुको त्रास हटाइदिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले रोकिएको परीक्षा गत आइतबारदेखि विद्यार्थीहरुलाई पायक पर्ने स्थानमै सञ्चालन गरिरहेको छ । एलएलबीको परीक्षा दिइरहनुभएकी विद्यार्थी अमिशा लम्सालले धेरै समयदेखि रोकिएको परीक्षा आफ्नै घरपायकबाट दिन पाउँदा खुसी लागेको बताउनुभयो । “परीक्षा रोकिंदा निकै तनाव महशुस भएको थियो, तर परीक्षा सुरु भएपछि भने बोझ कम भएको छ”–उहाँले भन्नुभयो ।

स्नातकोत्तर तहका लागि अनलाइन र स्नातकका लागि पुरानै विधिबाट विद्यार्थीको घर नजीकै केन्दै तोकी परीक्षा दिने व्यवस्था मिलाइएको छ । विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले एउटा परीक्षा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी परीक्षा सुरु गरिएको जानकारी दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत स्नातक तहमा बीबीटीटीएम, बीएएलएलबी र भोट भाषा छन् । एमएका सबै विषयको परीक्षा सुरु भएको छ । कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगीत परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरेर सञ्चालन गरिएको रजिस्ट्रार आचार्यले बताउनुभयो ।

“परीक्षा रोक्दा विद्यार्थीको शैक्षिक सत्र पछाडि धकेलिने भयो, विद्यार्थीको समय र शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा सुरु गरेका हौं”–उहाँले भन्नुभयो । विश्वविद्यालयले अहिले रूपन्देही र काठमाडौंमा मात्र कक्षा सञ्चालन गरेको छ । परीक्षा सञ्चालनका लागि भने रूपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्ला जिल्लाका २० स्थानमा परीक्षा केन्द्र तोकेको छ ।

विद्यार्थीको सहजताका लागि विद्यार्थीले मागेको स्थानमा परीक्षा केन्द्र तोकेको रजिस्ट्रार आचार्यले बताउनुभयो । बीए एलएलबीका एक जना विद्यार्थी हुम्लामा छन् । उनको परीक्षा हुम्ला क्याम्पसमार्फत दिलाइएको छ । “क्याम्पसका प्राध्यापक वसन्त रोकायालाई परीक्षा नियन्त्रक तोकेर उहाँलाई इमेलमार्फत प्रश्न पठायौं”–रजिस्ट्रार आचार्यले भन्नुभयो–“उहाँले परीक्षा लिएर इमेल गरेरै उत्तरपुस्तिका पठाउनुहुन्छ ।” बीए एलएलबीको परीक्षा लिन बुटवलमा मात्रै आठ स्थानमा परीक्षा केन्द्र छन् ।

परीक्षार्थीलाई सुरक्षित बनाउन दुई–दुई मिटरको दूरीमा राखिएको छ । विश्वविद्यालयबाटै मास्क, पन्जा र सेनिटाइजर दिने व्यवस्था गरिएको छ । हरेक दिन परीक्षा हल सेनिटाइज गर्ने, ज्वरो नाप्ने र स्वास्थ्यकर्मी खटाउने गरिएको छ । विद्यार्थी आश्मा पाण्डेले कोरोना भाइरसका कारण डराइडराइ परीक्षा दिन आए पनि परीक्षा केन्द्रको सुरक्षाले ढुक्क भएको बताउनुभयो । धेरै विद्यार्थी भएका संकायमा डोर टु डोर परीक्षा लिएको विश्वविद्यालयले कम विद्यार्थी हुने संकायका परीक्षा भने अनलाइनमार्फत सुरु गरेको छ । जसमा विद्यार्थीलाई पूर्ण निगरानीमा राख्ने र उत्तरपुस्तिका तत्काल लिने गरिएको छ ।

काठमाडौं, बुटवल र लुम्बिनीमा स्नातक र स्नातकोत्तर तह सञ्चालन गरेको लुम्बिनी विश्वविद्यालयमा सातसय विद्यार्थी छन् । सात क्याम्पसले सम्बन्धन लिएका छन् । यसपाली करिब चार सय विद्यार्थीले परीक्षा दिइरहेका छन् । निर्धारित तालिकाअनुसार चैतमा हुने परीक्षा कोरोना भाइरसका कारण सरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?