logo
२०८० चैत्र १६ शुक्रवार

  किन बारम्बार पहिरोले ठुँग्छ सिन्धुपाल्चोकलाई ?  



यो वर्ष मात्रै १८ ठूला पहिरो, आजको पहिरो सुरक्षित सोचेको स्थानमा

प्रदेश |


यो वर्ष मात्रै १८ ठूला पहिरो, आजको पहिरो सुरक्षित सोचेको स्थानमा
तस्बिर साभार: श्रीधर न्याैपानेकाे फेसबुक


केशवराज पौडेल
काठमाडौं, भदौ २८ गते । यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो । त्यो पहिरोमा परेर ६३ जनाको ज्यान गयो भने २० जनाभन्दा धेरै हराइरहेका छन् ।
यो बर्ष नेपालमा जुन १२ मा मनसुन भित्रिएको थियो । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २५० भन्दा धेरै र बाढीबाट ३६ जनाको ज्यान गएकोे छ । केन्द्रका अनुसार पहिरोमा परी ५० भन्दा धेरै जना र बाढीले बगाएर ३५ जना बेपत्ता भएका छन् ।
मनसुन अझै सकृय छ । मनसुन अवधिमा ४३६ स्थानमा पहिरो गएको थियो । पहिरोका कारण ६६४ परिवार प्रभावित र १ सय ९० जना घाइते भएको केन्द्रले जनाएको छ । यसैगरी, मनसुन अवधिमा ७९ वटा बाढीका घटना भएको केन्द्रले जनाएको छ । बाढीबाट ४ ६४ परिवार प्रभावित भए भने नौ जना घाइते भएका थिए ।
आइतबार बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये मध्यान्नसम्म सात जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । पहिरोमा अझै २४ जना हराइरहेको अनुमान गरिएको उहाँले बताउनुभयो ।
शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो । नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ–ठाउँमा पहिरो गएको छ । माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उहाँले बताउनुभया । यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो । पहिरोको कुनै पनि जोखिम नभएको ठाउँमा पहिरो गएपछि क्षति धेरै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरू ठाउँहरू हेरेका थियौं, चिरा परेका ठाउँ थिए, यहाँ पहिरो जाने सम्भावना देखिएको थिएन ।’ घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ ।
नेपालमा प्रतिवर्ष विभिन्न विपद्बाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक तीनसय जनाको मृत्यु बाढीपहिरोका कारण हुने गरेको छ । यस वर्ष मनसुन सुरु भएयता ११४ जनाले ज्यान गुमाइसकेका छन् भने ४३ जना बेपत्ता छन् । सबैखालका विपद् गरेर नेपालले हरेक वर्ष औसतमा एक अर्ब २१ करोड रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपरेको छ ।
एकीकृत अनुशन्धान नहुँदा समस्या
राष्ट्रिय पुन निर्माण प्राधिकरण बाहेकका अरु सरकारी संयन्त्रले समग्र सिन्धुपाल्चोकको भूगोलको अनुशन्धान गरेका छैनन् । २०७२ सालमा आएको भुकम्पपछि सिन्धुपाल्चोकको भौगर्भिक अनुशन्धानमा धेरै ठाउँका बस्तीहरु बस्न उपयुक्त नरहेको विवरण पेश भएपनि त्यो कार्यान्वयमा आउन नसकेको त्रिचन्द्र क्याम्पसमा अध्यापनमा संलग्न भूर्गभविद् डा.सुवोध ढकालले बताउनुभयो । उहाँले स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्र सरकारले कसले कुन ठाउँमा बस्ती बस्न ठिक हो भनेर कार्यान्वयन नगरेको कारण सिन्धुपाल्चोकमा क्षति धेरै देखिएको बताउनुभयो ।
सिन्धुपाल्चोकमा एकै पटक सबै भूगोलको चेकजाँच भएको छैन । हामी जस्ता भूगर्भविद्सँग समेत थोरै स्रोत साधनले नजिकैको ठाउँमा मात्रै अध्ययन अनुशन्धान भएका छन् । तर ति अनुशन्धानमा धेरै गम्भिर प्रकृतिका बिषयहरु पत्ता लागेको छ डा.ढकालले भन्नुभयो ।
सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पमा भन्दा पनि त्यो भन्दा पहिला आएका भूकम्पको असर देखा पर्न थालेका छन् । त्योभन्दा पहिला आएको भूकम्पमा गएका पहिरोमै मानव बस्ती रहेकाले मनसुनमा क्षति भएको उहाँले बताउनुभयो । एक सय बर्षअघिका भूकम्पमा आएको पहिरोहरुमाथि कम भिरालो देखिएपछि मानव बस्ती बसेको र ५०÷६०, बर्षसम्म बस्ती बसेको ठाउँ सुरक्षित भएको ठानेर बस्ती घना हुँदै जाँदा सोही बस्तीमाथि पहिरो खस्न थालेको डा.ढकालको अनुमान छ ।
भूगर्भमा जमिनका जोर्नीहरु हुन्छन् । एक भूगोल र अर्काे भूगोल छुट्टाउने काम गर्ने जोर्नीहरुको संख्या सिन्धुपाल्चोकको भूगोलमा धेरै देखिएकाले पहिरोको उच्च जोखिममा परेको उहाँले बताउनुभयो । भुकम्पले हल्लिएको जोर्नीहरु अबिरल बर्षाको कारण गलेर बग्न थालेको उहाँको भनाइ छ ।
सुरुमा पहाडमा भएको बस्ती बेसीमा झर्न थालेको र पहाडको फेदमा नदी बग्ने भएकाले नदीले कटान गर्ने र पहाडको खुट्टा डोजरले सडक बनाउँदा काटिदिने भएकाले पहिरोको जोखिम धेरै बढेको उहाँले बताउनुभयो । पहाडको खुट्टा डोजरले काट्ने क्रम नरोकिएसम्म सिन्धुपाल्चोकमा मात्रै हैन नेपालभर पहिरो जाने क्रम कम हुँदैन उहाँले भन्नुभयो ।
बलौटे पुरुवा माटोमाथि बस्ती
सिन्धुपाल्चोकको भूगोलमा सरकारी संयन्त्रबाटै एकीकृत रुपमा अनुशन्धान आवश्यक रहेको डा.ढकाल बताउनुहुन्छ । सिन्धुपाल्चोकमा बर्षाैअघि चीन तथा उत्तरी क्षेत्रमा रहेको हिमताल फुटेर आएको बाढीले नयाँ संरचनाहरु बनाएका छन् । त्यो संरचनाहरु बलौटे र पुरुवामाटो माथि बनेका छन् । त्यो माटो कसिएको हुँदैन । नकसिकएको माटोमाथि बसेका बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । उहाँले यो बिषयमा समेत खोजि गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?