logo
२०८० चैत्र १५ बिहीवार



चोरीको दोषबाट मुक्त हुन पूजा

खुला |


चोरीको दोषबाट मुक्त हुन पूजा


यलुु जोशी

भक्तपुर, भदौ ७ गते । नेवार समुदायले ‘जीवनमा कहिल्यै चोरीको दोष नलागोस्’ भन्ने कामनासहित बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने परम्परा छ । बोलीचालीका भाषामा यस दिनलाई गणेश चौथी भन्ने गरिन्छ । भाद्र शुक्ल चतुर्थीका अवसरमा शनिबार बिहानै घर चोख्याएर दुबो, लड्डुु र मूूलासहित भगवान् गणेशजीको पूजा गरियो ।
साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा अदुवाको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा, केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइयो । संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादका रूपमा खाने चलन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेवार समुदायमा गणेश चौथीमा चन्द्रमाको पूजा गर्ने विषयमा दुई मान्यता छ भन्दै एकथरी चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल, ढोका लगाउँछन् र लुकेर पूजा गर्छन् । अर्काथरी घरको आँगनमा सदस्य जम्मा भएर बस्छन् । चन्द्रमा देखा परेपछि पूजा गरी प्रसाद खाएर मात्र भित्र पस्छन् । नेवार समुदायले यसै दिन मासु भिœयाउने समेत गर्दछन् । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गर्ने प्रचलन छ ।
पौराणिक कथन अनुसार चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भन्दै जिस्क्याएपछि गणेशले रिसाएर चन्द्रमालाई ‘तिम्रो मुख हेर्ने चोरीको दोष लागोस्’ भन्ने श्राप दिए । त्यो दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोरीको दोष लाग्न थाल्यो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?