logo
२०८१ बैशाख १३ बिहीवार



भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनीद्वारा सन्यासको घोषणा

पढ्नै पर्ने |
खेलकुद |


भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनीद्वारा सन्यासको घोषणा


इश्वरचन्द्र झा
काठमाडौँ, साउन ३१ । भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महिन्दर सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को तीनवटै ट्रफी(एकदिवसीय विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफी) उचाल्ने उहाँ एकल कप्तान हुनुहुन्छ । उहाँले भारतलाई टेष्ट वरियताको शीर्ष स्थानमा समेत लग्नुभएको थियो ।
३९ वर्षीय धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सन्यासको घोषणा गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “तपाईंहरू सबैको स्नेह र समर्थनका लागि धन्यवाद छ, सात बजेर २९ मिनेटपछि म निवृत्त भएको छु ।” धोनीको उक्त घोषणामा स्पष्ट नलेखिएको भएपनि उहाँले इन्डियन प्रिमियर लिगको यूएईमा हुन लागेको संस्करणमा खेल्नुहुने बुझिएको छ । प्रिमियर लिगको आगामी संस्करणमा समेत उहाँले चेन्नई सुपर किङ्सको नेतृत्व गर्नुहुनेछ ।
प्रिमियर लिगको आगामी संस्करण खेल्ने तयारी स्वरुप उहाँ शुक्रबार चेन्नई पुग्नुभएको छ । छोटो प्रशिक्षणपछि टोली यूएईका लागि प्रस्थान गर्नेछ । प्रिमियर लिगको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्नेछ ।
सुपर किङ्सका कार्यकारी प्रमुख काशी विश्वनाथनले धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपनि चेन्नईका लागि कम्तीमा सन् २०२२ सम्म खेल्ने अपेक्षा राखेको प्रतिक्रिया दिनुभएको छ ।
धोनीले सन्यासको घोषणा गर्दा अन्तिम अन्तर्राष्ट्रिय खेल उहाँको ३५० औं अन्तर्राष्ट्रिय एकदिवसीय भएको छ । उक्त खेल विश्वकप क्रिकेट २०१९ को सेमीफाइनलमा जुलाई २०१९ मा न्युजिल्याण्ड विरुद्ध खेलिएको थियो । जसमा धोनीले ७२ बलको सामना गर्दै अर्धशतक लगाउनुभएको थियो । विश्वकपको फाइनलमा स्थान सुनिश्चित गर्न उत्रेको भारतीय पारी धर्मराउँदा धोनीले अर्धशतकीय पारी खेलेर स्थिरता दिनुभएको थियो । तर ५० रनको व्यक्तिगत योगफलमा मार्टिन गुप्टिलले ‘थ्रो’मा आउट भई धोनी पेभेलियन फर्किँदा भारत सेमीफाइनलबाटै बाहिरिन पुगेको थियो । त्यसयता धोनीले कुनै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुनुभएको छैन् । पछिल्लो पटक कोभिड–१९ को महामारीपूर्व गत मार्च महिनामा चेन्नई सुपर किङ्सका लागि उहाँ प्रशिक्षणमा सहभागी हुनुभएको थियो ।
सन् २००४ को डिसेम्बर महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेक्नुभएको धोनीले ९० टेष्ट र ९८ टी ट्वान्टी खेल्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा उहाँले १६ शतकसहित १५ हजारभन्दा बढी रन जोड्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको पूर्वाद्धमै उहाँले पाकिस्तान विरुद्धको श्रृङ्खलामा गर्नुभएको विष्फोटक ब्याटिङ क्रिकेट प्रशंसकको मस्तिष्कमा अझै ताजा छ ।
भारतीय क्रिकेट टोलीका कप्तानसमेत रहनुभएका क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गाङ्गुलीले एक वक्तव्य जारी गरी क्रिकेटको एक युगको अन्त्य भएको प्रतिक्रिया दिनुभएको छ । गाङ्गुलीले धोनीको नेतृत्व क्षमता भेटाउन मुस्किल हुने उल्लेख गर्नुभएको छ ।
सन् २०११ को विश्वकप फाइनलमा धोनीले छक्का लगाएर विश्वकपको उपाधि दिलाउनुका साथै अविजित रहेर खेल्नुभएको ९१ रनको पारी सबैभन्दा महत्वपूर्ण मानिन्छ । भारतको झारखण्ड राज्यको राँचीका धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको दुई वर्षपछि नै भारतीय क्रिकेट टोलीको कप्तान नियुक्त हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?