logo
२०८१ बैशाख ८ शनिवार



कोभिड-१९ सङ्क्रमितलाई सहयोग गर्न ‘अक्सिजन बैङ्क’ स्थापना   

राष्ट्रिय |


कोभिड-१९ सङ्क्रमितलाई सहयोग गर्न ‘अक्सिजन बैङ्क’ स्थापना   
सांकेतिक तस्विर


अच्युत रेग्मी

काठमाडौँ, साउन ३१ गते ।  आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैङ्क’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैङ्क’ स्थापना गरेको हो ।    
    
स्थापना गरिएको बैङ्कको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक गर्भनर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई आत्मासात् गरेको लाइन्स क्लबमा हाल नेपालभर एक हजार ५०० भन्दा बढी क्लब रहेका छन् । देशभरका एक हजार ५०० क्लबमध्ये एक क्लब लाइन्स क्लब अफ काठमाडौँ समर्पणमा ६० सदस्य आबद्ध छन् ।    
    
लायन्स क्लब समर्पणका अध्यक्ष वंशल गम्भीर बिरामी परेका कोरोना सङ्क्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताउनुहुन्छ । “घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैङ्क’ स्थापना गरेका हौँ”, उहाँ भन्नुहुन्छ । घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैङ्कमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ ।    
    
अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैङ्कको स्थापनाले धेरै राहतको अनुभूति भएको बताइएको छ । लायन्स क्लब समर्पणले सानो ५० र ठूलो १५० सिलिन्डर बिरामीका लागि राखेको छ । सानो सिलिन्डरले चार घण्टासम्म र ठूलो सिलिन्डरले २० घण्टासम्म अक्सिजन दिन्छ ।    
    
यस बैङ्कले अक्सिजन निःशुल्क प्रदान गर्ने भएकाले सिलिन्डर भने अक्सिजन सकिनेबित्तिकै अक्सिजन बैङ्कमा फिर्ता गर्नुपर्ने हुन्छ । माग बढ्दै जाँदा सिलिन्डरको क्षमतासमेत बढाउँदै लैजाने अध्यक्ष वंशलको भनाइ छ । आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई बैङ्कबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।    
    
लाइन्स क्लब वी वानका ड्रिष्टिक गभर्नर कोरोना सङ्क्रमणका कारण देशमा समस्या परेको बेलामा सामाजिक सङ्घसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउनुहुन्छ । अक्सिजन बैङ्कका व्यवस्थापक एवम् लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्मा औषधि किन्न नसक्ने विपन्न बिरामीलाई समेत लायन्स क्लब समपर्णले औषधि किन्नलाई पनि सहयोग गर्ने बताउनुहुन्छ ।    
    
तीस लाख खर्च गरेर उक्त बैङ्क स्थापना गरिएको हो । कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबीसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौँ समर्पणले जनाएको छ ।    
  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?