logo
२०८१ बैशाख ८ शनिवार



सप्तरीमा कोरोनाका कारण थप एक जनाको मृत्यु

प्रदेश |


सप्तरीमा कोरोनाका कारण थप एक जनाको मृत्यु


देवराम प्रसाद यादव

सप्तरी साउन २८ गते । सप्तरीमा कोरोना सङ्क्रमणका कारण थप एक वृद्धको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । डाक्नेश्वरी नगरपालिका-८ का ७५ वर्षीय बेचुलाल साहको मङ्गलबार राति आइसोलेसनमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

चार दिनअघि मुटुसम्बन्धी समस्याका कारण जँचाउन गजेन्द्र नारायण सिंह अस्पताल आएका उहाँलाई चिकित्सकले कोरोना सङ्क्रमणको पनि आशङ्का गरेर स्वाब सङ्कलन गराई सुरक्षित रुपमा घरमै बस्न सल्लाह दिई पठाएका थिए ।

मङ्गलबार राति सो अस्पतालको प्रयोगशालाबाट प्राप्त परीक्षण रिपोर्टले कोरोना पुष्टि भएपछि तत्कालै उनलाई लिन एम्बुलेन्स पठाइएको थियो । अस्पतालका प्रमुख डा. रन्जित झाका अनुसार राजविराज-६ मा समेत घर भएका उहाँलाई साईकृष्णा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसनमा राख्नका लागि एम्बुलेन्समा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सेनाको सहयोग र निगरानीमा बुधबार परिवारजनसहितको उपस्थितिमा शवको व्यवस्थापन गर्ने तयारी भइरहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. झाले जानकारी दिएका छन् ।
यसअघि असार ३१ गते राजविराज नगरपालिका-६ का ७२ वर्षीय रामकृष्ण दास तथा साउन २१ गते रुपनी गाउँपालिकाका ४५ वर्षीय बिन्देश्वर साहको कोरोनाकै कारण मृत्यु भएको थियो । यता बुधबार बिहान मृतक साहको राजविराज-६ स्थित घर सिल गरिएको छ भने परिवारका सबै सदस्यको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

बुधबारसम्ममा जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८५ पुगेको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?