logo
२०८० चैत्र १६ शुक्रवार



सहरमा अनलाइन कक्षा, गाउँमा टोल शिक्षा

पढ्नै पर्ने |


सहरमा अनलाइन कक्षा, गाउँमा टोल शिक्षा


नवीन शिशिर विक

बागलुङ, साउन २८ गते ।  कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि सरकारले चैत्र ५ गतेदेखि विद्यालयको पठन पाठन बन्द भएपछि हालसम्म पनि औपचारिक कक्षा सञ्चालन हुन सकेको छैन । औपचारिक कक्षा तत्काल खोल्न नसक्ने अवस्थामा सरकारले वैकल्पिक शिक्षण विधि अपनाएर पठन–पाठन क्रियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई आग्रह गरेपछि बागलुङमा पनि वैकल्पिक विधिबाट पठन क्रियाकलाप सुरु भएको छ ।

अधिकांश सामुदायिक विद्यालयले टोल–टोलमा शिक्षण विधि अपनाएका छन भने निजी विद्यालयहरूले अनलाइन कक्षाबाट शिक्षण क्रियाकलाप सञ्चालन गरेको हुन् । कम्प्युटर, इमेल, इन्टरनेट जस्ता सञ्चार साधनको सहज पहुँच हुने सहरी क्षेत्रमा अनलाइन कक्षा र आधुनिक सञ्चार माध्यमको सहज पहुँच नहुने ग्रामीण क्षेत्रमा टोल शिक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्माराज उपाध्यायले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयहरूले आफ्नो विद्यालय पहुँच क्षेत्रलाई टोलमा विभाजन गरी शिक्षण क्रियाकलाप थालेका छन् । टोल–टोलमा शिक्षक विभाजन गरेर पठन पाठन गरेका छौँ ।’ मुलपानी माविका प्रधानाध्यापक चुडामणी सुवेदीले भन्नुभयो, ‘कक्षा सञ्चालन गर्नुअघि साबुन पानीले हात धुने र मास्कको प्रयोगलाई अनिवार्य गरेका छौँ । ’

प्रधानाध्यापक सुवेदीका अनुसार टोलका सामुदायिक भवन, मन्दिर, पार्टीमा विद्यार्थीहरूलाई राखेर विषयवस्तुको सहजीकरण, गृहकार्य जाँच, परियोजना कार्यमा सहभागिता जस्ता कार्य सञ्चालन गरेको छ ।

लामो समय विद्यालय बन्द हुँदा बालबालिकामा पढाई भन्दा डुल्ने, टिभी हेर्ने मोबाइलमा धेरै समय बिताउने जस्ता समस्या आउने गर्दा टोल शिक्षण सिकाइ वैकल्पिक माध्यमको रुपमा विकास भएको शिव माविका प्रधानाध्यापक हरिप्रसाद चालिसेको भनाइ छ । विद्यालयले ११ वटा अध्ययन केन्द्रमार्फत सामाजिक दूरी कायम गरी अध्ययन अध्यापन कार्य सञ्चालन गरेको छ ।

जिल्लाका अधिकांश विद्यालयले टोल शिक्षा सञ्चालन गरे पनि पछिल्लो पटक कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्ने भ्रम फैलिए पछि केही केही पालिकाहरूले टोल शिक्षा स्थगित गरेको समन्वय इकाई प्रमुख उपाध्याको भनाइ छ ।

विश्वव्यापी महामारी निम्त्याएको कारोना सङ्क्रमणको कारण सरकारले नियमित तालिकाभन्दा अघि नै विद्यालय तह १–९ को वार्षिक परीक्षा मिति अघि सारेर परीक्षा सञ्चालन गरेको थियो । बागलुङका अधिकांश विद्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत नै वार्षिक परीक्षाफल सार्वजनिक गरेका थिए ।

बागलुङका १६६ विद्यालयम क्वारेन्टाईन निर्माण गरिएको थियो । भदौ १ गतेदेखि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने सरकारी निर्देशन भएपछि पछिल्लो पटक कोरोना सङ्क्रमणदर वृद्धिपछि भर्ना अभियान नै प्रभावित हुने देखिएको समन्वय प्रमुख उपाध्यायले बताउनुभयो । यद्यपि क्वारेन्टाइनको विकल्प खोज्न स्थानीय तहलाइ आग्रह गरिएको छ । क्वारेन्टाइन रहेका विद्यालय खाली गरेर निर्मलीकरण गर्न स्थानीय तहलाई आग्रह गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?