logo
२०८० चैत्र १६ शुक्रवार



उदयपुरका तीन नगरपालिका क्षेत्रमा दश दिनका लागि निषेधाज्ञा

प्रदेश |


उदयपुरका तीन नगरपालिका क्षेत्रमा दश दिनका लागि निषेधाज्ञा
सांकेतिक तस्बिर


गाईघाट समाचारदाता
गाईघाट, साउन २८ गते । सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा समुदाय स्तरमा समेत कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दैगएपछि उदयपुरका तीन वटा नगरपालिका क्षेत्रभित्र बुधबार राति १२ बजेदेखि लागु हुने गरी स्थानीय प्रशासनले १० दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो समय समुदाय स्तरमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा मङ्गलबार अपरान्ह बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ सङ्क्रमण समुदायमा थप फैलिन नदिन तथा जोखिम न्यूनीकरण गर्न सङ्क्रामक रोग एेन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम आज साउन २८ गते बुधबार राति १२ बजेदेखि आगामी भदौ ७ गते आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

प्रजिअ पाण्डेका अनुसार बिहान ९ देखि १२ बजेसम्मका लागि खाद्यान्नका पसल खोल्ने र बाँकी सबै साउन २८ गते राति १२ बजेदेखि भदौ ७ गतेसम्मका लागि पूर्णरुपले ठप्प पार्ने निर्णय गरिएको छ । निषेधाज्ञामा पनि सरकारले सूचिकृत गरेको अत्यावश्यक सेवा मेडिकल, पानी, दूधका पसल र सवारी भने निरन्तर सञ्चालनमा रहने प्रजिअ पाण्डेले बताउनुभयो ।

जिल्लामा १०४ जनामा कोरोना पुष्टि भइसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने अवस्था देखिएकाले निषेधाज्ञा जारी गर्नुपरेको उहाँको भनाइ छ । मङ्गलबार मालपोत कार्यालयका छ जना कर्मचारी र बेलका नगरपालिकामा एकै परिवारका चार जनासहित १५ जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमण अझ बढ्न सक्ने स्थिति भएको सुरक्षा समितिको निष्कर्ष छ ।

प्रजिअ पाण्डेले भन्नुभयो, ‘समुदायमा फैलिएको कोरोना सङ्क्रमणको अवस्था भयावह हुनसक्ने खतरा देखिएकाले कडाइ गर्नुपरेको हो ।’ प्रशासनले दमकल, प्रेस, एम्बुलेन्स, शववाहन, दूध, खानेपानीका गाडीहरूबाहेक अन्य सबै निजी तथा भाडाका सवारी साधानहरू सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?