logo
२०८० चैत्र १६ शुक्रवार



युवा उद्यम विकासका लागि बागमती प्रदेश सरकार तीन अर्ब लगानी गर्दै

प्रदेश |


युवा उद्यम विकासका लागि बागमती प्रदेश सरकार तीन अर्ब लगानी गर्दै
सांकेतिक तस्बिर


शिवकुमार काशी

हेटौँडा, साउन २८ गते । विश्वभर “विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता” भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै गर्दा बागमती प्रदेश सरकारले तीन अर्ब रुपियाँ युवाको क्षेत्रमा लगानी गर्ने तयारी गरेको छ ।

चालू आर्थिक बर्ष २०७७/०७८ का लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्तुत गर्नुभएको बजेटमा युवा उद्यम विकासका लागि तीन अर्ब रुपियाँ छुट्याइएको उल्लेख छ । अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवाहरूका लागि सशक्तिकरण, सीप तथा उद्यमशीलताको विकासका लागि सरकारले ध्यान दिएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ, “युवा उद्यमीलाई प्रोत्साहन स्वरुप सहुलियतपूर्ण ऋण प्रदान गर्न तीन अर्बको कोष निर्माण गरिएको जानकारी गराउन चाहन्छु ।”

पारित बजेटको १६६ औँ बुँदामा कृषि, उद्योग, व्यापार, व्यवसाय, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवर्धन, पर्यटन उद्योगसँग सम्बन्धित उद्योगहरू, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योग लगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यका लागि तीन अर्ब विनियोजन गरिएको उल्लेख छ ।

सहुलियतपुर्ण ऋण र कर्जाका लागि विनियोजित प्रदेश सरकारले कार्यविधि बनाएर कार्यान्वयन गर्ने बजेट वक्तव्यमा उल्लेख रहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले युगको नेतृत्व युवाले गर्नुपर्ने र सामाजिक विकृति विसङ्गतिको सामना युवा वर्गले गर्नुपर्ने बताउनुभएको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने गरिएपनि यस वर्ष कोरोना सङ्क्रमणका कारण कुनै पनि औपचारिक कार्यक्रमहरू सञ्चालन भएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?