logo
२०८० चैत्र १५ बिहीवार



चिउँडो र हातमा मास्क लगाउने १२१ जनालाई कारबाही

प्रदेश |


चिउँडो र हातमा मास्क लगाउने १२१ जनालाई कारबाही


नवीन शिशिर विक

बागलुङ, साउन २७ गते । जिल्ला प्रशासन कार्यालय बागलुङले मास्क नलगाई पसलमा बस्ने तथा बजारमा हिड्ने एक सय २१ जनालाई कारबाही गरेको छ ।

पटक–पटक जनस्वास्थ्यका सुरक्षा मापदण्ड अवलम्बन गर्न आग्रह गर्दा पनि अटेर गर्नेलाई प्रहरीले पसलमा बसेका तथा बाटोमा हिँड्दै गरेका व्यापारी तथा सर्वसाधरणलाई नियन्त्रणमा लिएर जरिवाना गरेको हो । जिल्ला प्रशासनले गत बुधबारदेखि कारबाही सुरु गरेको हो । 

पसलमा मास्कको प्रयोग बिना बस्ने, सामाजिक दुरी निर्धारण नगर्ने व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन पु-याउने गरेको छ । प्रशासनमा पुगेका व्यापारी तथा सर्वसाधारणलाई एक सय रुपियाँ जरिवाना गरेर सम्झाई बुझाई आगामी दिनमा सुरक्षा मापदण्डको कार्यान्वयन गर्ने प्रतिबद्धताका आधारमा छोड्ने गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो । कारबाहीमा पर्ने अधिकांशले चिउँडो र हातमा मास्क प्रयोग गरेका थिए ।

प्रशासनले बागलुङ बजार र गल्कोट बजारमा मास्कको प्रयोगमा कडाइ गरेको छ । अन्य क्षेत्रमा पनि प्रहरीलाई जनस्वास्थ्य सुरक्षालाई कडाई गर्न आग्रह गरेको प्रशासकीय अधिकृत पन्तको भनाई छ । ‘पटक पटकको आग्रहलाई पनि बेवास्ता गर्नेलाई जरिवाना गरेका छौँ’ प्रशासकीय अधिकृत पन्तले भन्नुभयो, ‘भदौ पहिलो हप्तासम्म कारबाहीलाई जारी राख्छौँ ।’ मास्क तथा सेनिटाईजरको प्रयोगले कोरोना संक्रमण रोकथाममा सहयोग पुग्ने भए पनि सर्वसाधारणले त्यसलाई वेवास्ता गरेको उहाँको भनाई छ ।

प्रशासनको कडाइपछि मास्क प्रयोगकर्ता बढेका छन् । ‘मास्क व्यक्तिको खल्ती, हात वा चिउँडोमा हुन्छ’ उहाँले भन्नुभयो, ‘जुन उद्देश्यका लागि मास्क प्रयोग गर्ने हो त्यसलाई अटेर गर्नेलाई पनि सङ्क्रमण ऐन बमोजिम कारबाही हुन्छ ।’

सर्वसाधारणले सङ्क्रमण रोकथामको सक्दो सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । ‘सरकारी निकायले मात्रा कदम लिएर रोक नियन्त्रण हुने होइन’ उहाँले भन्नुभयो, ‘सबैले सहयोग गर्ने हो भने महामारी नहोला भन्न सकिदैन ।’ कानुनी कारबाहीभन्दा पनि नागरिक स्वयमले सतर्कता अपनाउनु उपयुक्त हुने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?