logo
२०८० चैत्र १६ शुक्रवार



जाँतो बन्यो, संरक्षण भएन

प्रदेश |


जाँतो बन्यो, संरक्षण भएन


हरि कोइराला 
लेटाङ(मोरङ), साउन २७ गते । उत्तरी मोरङको लेटाङ –९ जाँतोमा निर्माण भएको जाँतोको प्रतिमाले संरक्षण पाउन सकेको छैन । गत वर्षको साउनमा निर्माण सुरु भएको जाँतो यतिबेला लेउले कुरुप बनेको छ । वरिपरि घाँस पलाएको छ भने घेराबारामा खिया लाग्न थालेको छ । साविक जाँते गाविसको प्रवेशद्वार धार्मिक चौकमा निर्माण भएको संसारको सबैभन्दा ठूलो भनिएको जाँतो प्रदेश सरकारको १० लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण भएको हो ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार जाँतो निर्माण समितिले भ्रमण वर्ष २०२० का अवसरमा जाँतो पार्कको उद्घाटन गर्ने कार्यक्रम थियो । निर्माणको सम्पूर्ण काम सकिए पनि जाँतो पार्क उद्घाटन नहुँदा स्थानीय निरास भएका छन् । मोरङ जिल्लामा ६२ वटा गाउँ पञ्चायत हुँदा पनि अस्तित्वमा रहेको जाँते गाविसको पहिचान गुम्न नदिन स्थानीयको पहलमा जाँतो पार्क निर्माण गरिएको हो । राज्य पुनर्संरचनाका क्रममा जाँते गाविस फुटाएर आधा लेटाङ नगरपालिकामा र आधा मिक्लाजुङ गाउँपालिकामा समाहित गरिएको छ ।

भ्रमण वर्षको सुरुमै उद्घाटन गर्ने तयारी थियो । त्यसबेला थोरै काम बाँकी थियो । काम सम्पन्न गर्न नपाउँदै चैत ११ बाट बन्दाबन्दी भयो । सोही कारणले औपचारिक उद्घाटन गर्न नपाइएको लेटाङ ९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताउनुभयो । जाँतो निर्माणका लागि स्थानीयले चार लाख रुपियाँ बराबरको जनश्रमदानसमेत गरेका छन् । जाँतो निर्माण समितिका अध्यक्ष विमल लिम्बूका अनुसार जाँतो बनाइएको क्षेत्र १० धुर जग्गामा फैलिएको छ । चिटिक्कको पार्कभित्र पाँच फिट गोलाईको विशाल जाँतो निर्माण गरिएको छ ।

जाँतोको स्थायी ढुङ्गा (तल्लापट्टीको) डेढ फिट उचाइको छ, भने माथिल्लो घुम्ने ढुङ्गा १५ इन्च गोलाईको छ । काठको हातो छ भने दुई किलो फलामको मानी छ । जाँतो २०७६ को साउन २१ गते निर्माण गर्न थालिएको हो ।

ढुङ्गाको खानी हो – जाँते क्षेत्र । पहाडको फेदीमा रहेको जाँतेले भर्खरै मात्र बिकास देख्न पाइरहेको छ । जाँते गाविसको नाम नै उसबेला जाँतोसँग जोडेर राखिएको स्थानीय बुढापाकाको भनाइ छ । 'उसबेला जाँतो बिना जाँतेवासीको दैनिकी नै चल्दैनथ्याे', स्थानीयले जाँतोको आवश्यकता माथि प्रष्ट्याउँदै भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?