logo
२०८० चैत्र १५ बिहीवार



पर्सामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


पर्सामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि
फाइल तस्विर


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन २५ गते । शनिबार राति अबेर आएको पीसीआर परीक्षण रिपाेर्ट अनुसार पर्सा जिल्लामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नाै जना नेपाल प्रहरी, एक जना भारतीय महावाणिज्य दूतावास वीरगञ्जका कर्मचारीसहित ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जसमा मृत्युपश्चात गरिएको पीसीआर परीक्षणमा एक पोजिटिभसहित पर्साका ७१ जना र बारा जिल्लाका तीन जना तथा सर्लाही जिल्लाका एक जना रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार ६० जना पुरूष र १५ जना महिलासहित ७५ जना १२ वर्षदेखि ६८ वर्ष उमेर समूहका नयाँ सङ्क्रमित पुष्टि भएको हो ।

सङ्क्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत नाै जना नेपाल प्रहरी एक जना १५ वर्षकी महिला, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी ३५ वर्षीय एक जना पुरुष कर्मचारी, नारायणी अस्पतालका एक जना पुरुष र एक जना महिला कर्मचारी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि सङ्क्रमण पुष्टि भएको छ । यसअघि सङ्क्रमित पुष्टि भइसकेका वीरगञ्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेका महत्तोको साउन २१ गते पीसीआर परीक्षणको लागि स्वाबको नमूना सङ्कलन गरिएको थियो ।

शनिबार राति आएको परीक्षण रिपाेर्टमा सङ्क्रमित देखिएका ७५ जनामध्ये आठ जना सङ्क्रमितमा ज्वरो र खोकीका लक्षण रहेको बताइएको छ । जसमध्ये २९ जना नयाँ सङ्क्रमितमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गराएका र ११ जना आफैँ पैसा तिरेर पीसीआर परीक्षण गराएका रहेका छन् ।

त्यसै गरी पर्सामा पुष्टि भएका ७१ नयाँ सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिकाको वारुण नियन्त्रणका ३९ वर्षीय र ५० वर्षका दुई जना पुरुष कर्मचारी, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १६ वर्षदेखि ६८ वर्षका सम्मका ४६ जना रहेका छन् । नयाँ सङ्क्रमितहरूमा वीरगञ्जको गणेश टोलका सात जना, वीरगञ्जको लिङ्करोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्याङ्की, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा रहेका छन् ।

त्यस्तै पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका वडा नं. ७ का २६ वर्षका एक जना पुरुष, पर्सागढी नगरपालिका वडा नं. ६ का ३२ वर्षदेखि ५० वर्षका तीन जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नं. ४ निवासी २२ वर्षका एक जना पुरुष, जिराभवानी गाँउपालिका वडा नं. २ निवासी २२ वर्षकी एक जना महिला, पर्सा जिल्ला अमरपट्टी वडा नं. ४ निवासी दुई जना महिला र एक जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी दुई जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ६ निवासी ३३ वर्षका एक जना पुरुष, बारा जिल्ला परवानीपुर-३ निवासी ३२ वर्षीय एक जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका-६ निवासी २२ वर्षका एक जना पुरुष र सर्लाही जिल्लाका ३६ वर्षका एक जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?