logo
२०८१ बैशाख १२ बुधवार



बागलुङमा ९१ प्रतिशत सङ्क्रमितले कोरोना जिते

स्वास्थ्य |


बागलुङमा ९१ प्रतिशत सङ्क्रमितले कोरोना जिते


नवीन शिशिर विक
बागलुङ, साउन २५ गते । बागलुङमा गत चैत्रदेखि यता कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ९१ प्रतिशत सङ्क्रमितले कोरोना जितेका छन् । युरोप, भारत, खाडी तथा कोरिया हुँदै गृह जिल्ला आउने क्रममा सङ्क्रमित भएका कुल २६१ जनामध्ये २३८ जनाले कोरोना जितेर घर फर्केका छन् । नेपालमा निको हुने दर ७१ प्रतिशत छ । साउन २४ गते शनिबारसम्म बागलुङमा २२ जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् ।

बागलुङमा पहिलो पटक चैत्र १५ गते बेल्जियमदेखि आएकी १९ वर्षीय युवतीमा कोरोना पुष्टि भएको थियो । युवतीसँगै बेल्जियमदेखि बागलुङ आएकी ६५ वर्षीय महिलालाई चैत्र २० गते कोरोना सङ्क्रमण पुष्टि भयो । दुवै जनालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरेपछि निको भएर घर फर्केलगतै बागलुङ कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको थियो ।

त्यसलगतै भारत तथा अन्य देशबाट बागलुङका नागरिकहरू घर फर्कन थालेपछि जिल्लामा सङ्क्रमितको दर बढेर गयो । सङ्क्रमितमध्ये भारतबाट बागलुङ आएर क्वारेन्टाइनमा रहेका एक जना पुरुषको मृत्यु भएको छ । सङ्क्रमितमध्ये मृत्यु हुनेको दर ० दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख गुरौका अनुसार जिल्लामा दुई हजार २१० जनाको पीसीआर र दुई हजार १४२ आरडीटी गरी चार हजार ३५२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लामा सबै भन्दा बढी गल्कोट नगरपालिकामा ४५ र सबै भन्दा कम तमानखोला गाउँपालिकाका छ जनामा कोरोना पुष्टि भएकाे थियो । सङ्क्रमितमध्ये १० प्रतिशत महिला रहेका छन् ।

दश स्थानीय तहमध्ये जैमिनी नगरपालिकामा सात, निसीखोला गाउँपालिकामा १३, ताराखोला गाउँपालिकामा १३, बरेङ्ग गाउँपालिकामा १९, ढोरपाटन गरपालिकामा २६, काठेखोला गाउँपालिकामा ३३, बडिगाड गाउँपालिकामा ३७, र बागलुङ नगरपालिकाका ३९ जनामा सङ्क्रमण देखिएको थियो ।

हाल जैमिनी नगरपालिकाका एक, ताराखोला गाउँपालिकाका एक, काठेखोला गाउँपालिकाका तीन, गल्कोट नगरपालिकाका दुुई र बागलुङ नगरपालिका अन्तर्गत १५ उपचाररत रहेका छन् । २२ जना सङ्क्रमित मध्ये धौलागिरी अस्पतालमा १५, धौलागिरी बहुमुखी क्याम्पसमा ६, नरेठाँटी स्वास्थ्य चौकीमा एक जनाको उपचार भैरहेको छ ।

सङ्क्रमण पुष्टि भएको दिनदेखि १–७ दिनमा ७ प्रतिशत, ८–१४ दिनमा ५६ प्रतिशत, १५–२१ दिनमा २७, २२–२८ दिनमा ६ प्रतिशत, २९–३५ दिनमा निको हुने ३ प्रतिशत र ३६ दिन बढी समय लाग्नेको सङ्ख्या एक प्रतिशत रहेको छ ।

जनस्वास्थ्यका सुरक्षा मापदण्डलाई कडाइका साथ पलना गर्नुका साथै दिन दैनिकीलाई सन्तुलनमा राख्न सके सङ्क्रमणबाट जोखिम कम हुने कार्यालय प्रमुख गुरौले उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?