logo
२०८१ बैशाख १२ बुधवार

  कोभिडबारे सरकारको ‘इपी मोडलिङ’  



मध्यम अवस्थामा दश दिनमा सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने

स्वास्थ्य |
पढ्नै पर्ने |


मध्यम अवस्थामा दश दिनमा सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने


इश्वरचन्द्र झा
काठमाडौँ, साउन २४ गते । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पूर्वानुमानभन्दा सीमित संख्यामा मात्रै फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो ।
मन्त्रालयले ‘इपी मोडलिङ’(इपीडेमिक प्रेडिक्शन)बाट उक्त अनुमान गरेको हो । सङ्क्रमण युद्ध स्तरमा फैलिए साउन २५ सम्म नेपालमा सक्रिय सङ्क्रमित ९१ हजार पुग्ने अनुमान गरिएको थियो । तर हाल सक्रिय सङक्रमितको सङ्ख्या छ हजार ६३० दर्ता गरिएको छ ।
मध्यम अवस्थामा भदौ २ गतेसम्म सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने अनुमान गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले दुवै अवस्थाको तुलना गर्दा नेपाल सन्तोषजनक अवस्था रहेको बताउनुभयो । नागरिक सहयोग, प्रतिकार्यात्मक कार्यले सङ्क्रमित हुने अनुमानभन्दा सीमित रहेको उहाँले बताउनुभयो ।
नेपालमा पछिल्लो दश दिनमा करिब तीन हजार पाँच सय सङ्क्रमितको पुष्टि भएको छ । कुल सङ्क्रमित हुनेको सङ्ख्या २२ हजार २१४ पुगेको छ । सक्रिय सङ्क्रमित छ हजार ६३० छन् । सङ्क्रमितको मृत्युदर वृद्धि भएको छ । हाल प्रतिदशलाख सङ्क्रमितका शून्य दशमलव तीन प्रतिशत कायम गरिएको छ ।

सङ्क्रमित खोज्न एक हजार ७५ टोली
नेपालमा कोरोनाभाइरसका सङ्क्रमित खोज्न एक हजार ७५ वटा टोली परिचालन गरिएको छ । उक्त टोलीमा चिकित्सकसहित स्वयंसेवीहरू छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच वटा टोली बनाइएको छ ।
उक्त टोलीले सङ्क्रमितको सम्पर्कमा आएकाको ‘ट्रयास’ गर्दैछन् । यसरी ट्रयास गरिएको आशङ्कितलाई क्वारेन्टिनमा राख्ने र परीक्षणका लागि टोलीले सघाउँदैआएको छ । मन्त्रालयका अनुसार प्रत्येक टोलीमा तीन जना छन् । जसअनुसार कोरोना सङ्क्रमितको सम्पर्कमा आउनेको खोजबिन गर्न नै तीन हजार दुई सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

दुई महिनालाई पुग्ने पीपीई
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी, स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सामग्री तयारी अवस्थामा रहेको जनाएको छ । मन्त्रालयका अनुसार गम्भीर प्रकृतिका एक हजार पाँच सय बिरामीको उपचारका लागि औषधि र आईसीयू सामग्री मौज्दात रहेको छ । कोभिड –१९ बिरामीका लागि दुई महिनासम्म पुग्ने प्रयोगशाला सामग्री, व्यक्तिगत् सुरक्षा सामग्री मौज्दात छन् । थप सामग्री खरिद प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रकोपको रुप लिने अवस्थाका लागि पूर्वतयारी स्वरुप होम आइसोलेसन/क्वारेन्टिन कार्यान्वयनमा ल्याइसकेको छ । मन्त्रालयले हालसम्म ४१ वटा दस्तावेज तथा निर्देशिका बनाएको छ । निजी अस्पतालका लागि खर्चको मापदण्ड निर्धारण गरेको छ । दैनिक परीक्षण क्षमता सरकारी र निजी गरी २२ हजार पुर्याइएको छ ।

कति भेन्टिलेटर र आईसीयू?
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा अत्यन्तै जटिल अवस्थाका लागि दुई हजार छ सय आईसीयू तथा नौ सय भेन्टिलेटर उपलब्ध छ । सरकारले चार महिनाको लागि हरेक हप्ताको कार्ययोजना तयार गरी कार्यान्वयनमा लगेको छ । असारदेखि असोजसम्मको कार्ययोजना लागू गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
पछिल्लो केही महिनामा कोरोना सङ्क्रमितको उपचारका लागि भनेर मन्त्रालयले २५० आईसीयू र भेन्टिलेटर थपेको छ । २४० वटा आईसीयू र भेन्टिलेटर थप्ने प्रकृया अगाडि बढाइएको छ । हाल ६६ जना कोरोना सङ्क्रमित बिरामी आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो केही दिन यता कोरोना सङ्क्रमणबाट मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या वृद्धि भइरहँदा स्वास्थ्य पूर्वाधार नै धराशायी हुने विज्ञहरूले आकलन गरिरहँदा मन्त्रालयले उपलब्ध पूर्वाधारको सूची सार्वजनिक गरेको हो । यद्यपि मन्त्रालयका प्रवक्ता डा. गौतमले नागरिकले जनस्वास्थ्य मापदण्डको पालना उच्च सतर्कताले गर्न नसके आईसीयू र भेन्टिलेटरको सङ्ख्या कम पर्न जाने चेतावनी दिँदै आउनुभएको छ ।

शय्या विस्तार गरिँदै
असार अन्तिम साता ५० देखि ६० जनासम्म सङ्क्रमित फेला पर्दैआएको थियो । एक महिनाको अवधिमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या करिब पाँच सय पुग्न लागेको छ । मन्त्रालयले दुई महिना अघि नै सात वटै प्रदेशमा सात सात हजार शय्या तयार गर्न रकम निकासा गरेको थियो । उक्त शय्या अस्पतालबाहेक अतिरिक्त स्थानमा तयार गर्न वितरण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले दैनिक प्रेस ब्रिफिङ्को क्रममा बताउनुभएको छ । जसका लागि प्रदेश २ र ५ मा सात सात करोड, सुदूरपश्चिम र कर्णालीमा छ छ करोड तथा बाग्मती, प्रदेश १ र गण्डकीका लागि चार चार करोड निकास गरिसकेको छ ।
जोखिमपूर्ण अवस्थाका लागि मन्त्रालयले २५ हब र २० शिक्षण अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गर्न सक्ने क्षमता विस्तार गरेको छ । उक्त टोली तयारी अवस्थामा छन् । आवश्यकता बमोजिम परिचालन गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणबाट पछिल्ला दिनहरूमा काठमाडौँ र प्रदेश २ सबैभन्दा बढी प्रभावित छन् । सङ्क्रमणबाट मृत्यु भएको ७० जनामध्ये तीस जना प्रदेश २ का छन् । प्रदेश २ न्युनत्तम स्वास्थ्य पूर्वाधारको मापदण्डलाई समेत पाउन सकेको छैन । पछिल्ला दिनहरूमा दैनिक एकसय भन्दा बढी सङ्क्रमित थपिन गई सक्रिय सङ्क्रमितको सङ्ख्या हाल दुई हजार ८३९ पुगेको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा वाग्मती प्रदेशको काठमाडौँसमेत थपिएको छ । काठमाडौँमा पहिलोपटक पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । बाग्मतीमा ९४३ जना सक्रिय सङ्क्रमित छन् । राजधानी शहरसमेत रहेकोले काठमाडौँ उपत्यकामा स्वास्थ्य पूर्वाधार सन्तोषप्रद अवस्थामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?