logo
२०८१ बैशाख ७ शुक्रवार

  मन्त्रिपरिषद् निर्णय  



लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, सचिवमा राई

मुख्य समाचार |


लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, सचिवमा राई


लक्की चौधरी

काठमाडौँ, साउन १९ गते । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदको सोमबार बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्य रहनुभएका भट्टलाई लगानी बोर्डको प्रमुखमा नियुक्त गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । सुदूरपश्चिमको डडेल्धुरा पुर्ख्याैली घर भएका भट्ट लामो समयदेखि काठमाडौँमा बस्दैआउनुभएको छ ।

उहाँको दक्षता इन्जिनियरिङ तथा व्यवस्थापनमा हो । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त हुनुभएपछि लगानी बोर्डको प्रमुख पद खाली थियो । सो पदमा भट्टलाई नियुक्त गर्ने निर्णय भएको हो । कार्यकारी अधिकृतमा नियुक्त हुनुभएका भट्टले भने आफूलाई त्यसबारेमा औपचारिक कुनै जानकारी नआएको बताउनुभयो । “विभिन्न मिडियाबाट मैले खबर पाएको छुँ, तर कुनै औपचारिक खबर आएको छैन” उहाँले भन्नुभयो ।

त्यसैगरी, मन्त्रिपरिषद बैठकले वीरबहादुर राईलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकको विभिन्न ठाउँमा गएको बाढी पहिरो, डुबानका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ । सो बारेमा बैठकमा समीक्षासमेत भएको छ । बैठकले बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको एक मन्त्रीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप