logo
२०८० चैत्र ६ मंगलवार



साक्षीसहित भएको दुई अध्यक्षबीचको वार्ता सम्पन्न, बैठक सकारात्मक

पढ्नै पर्ने |


साक्षीसहित भएको दुई अध्यक्षबीचको वार्ता सम्पन्न, बैठक सकारात्मक
फाइल तस्विर


लक्की चाैधरी

काठमाडौँ, साउन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच साक्षीसहित बसेको वार्ता सम्पन्न भएको छ । करिब तीन घण्टा लामो बसेको बैठक सकारात्मक रहेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग वार्ता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुग्नुभएको थियो । बिहान १० देखि दिउँसो १ बजेसम्म भएको बैठकमा दुई अध्यक्षबीचमा व्याप्त आशङ्का हटाउने काममात्र भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।

“दुई अध्यक्षबीचको वार्ता सकारात्मक भएको बुझिएको छ, यसअघिसम्म दुवै जनाबीच रहेको तिक्तता र आशङ्का हटेको भन्ने हामीले जानकारी पाएका छौँ” सल्लाहकार सापकोटाले भन्नुभयो । पुनः वार्ता र संवाद गरेर पार्टीको विद्यमान गतिरोधको अन्त्य गर्नेमा दुवै अध्यक्ष तयार रहेको उहाँले बताउनुभयो ।

साउन १३ गते अध्यक्ष प्रचण्ड वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनाललाई नै साथमा लिएर बालुवाटारमा अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । तर सो दिन केही सहमति भएको थिएन । निर्धारित पार्टीको स्थायी कमिटी बैठक स्थगित गर्नुभएपछि प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्ड रुष्ट हुनुभएको थियो । सोही दिन उहाँले आफ्नै अध्यक्षतामा स्थायी कमिटीको भेला बालुवाटारमै गर्नुभयो । तर अध्यक्ष ओलीले भेलालाई स्थायी कमिटीको बैठकको रुपमा स्वीकार गर्नुभएन ।

त्यसपछि दुई अध्यक्षबीच वार्ता र संवाद हुन सकेको थिएन । आज आइतबार बसेको बैठकमा अध्यक्षद्वयका साथमा वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको समेत सहभागिता थियो । दुवै नेतालाई साक्षी राखेर दुवै अध्यक्षले वार्ता गर्नुभयो ।

नेकपाले आगामी चैत २५–३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । दुई अध्यक्षबीचको वार्तामा अध्यक्ष ओलीले त्यसअघि मङ्सिर महिनामै ‘अर्ली महाधिवेशन’ गर्न प्रस्ताव गर्नुभएको थियो । तर अर्का अध्यक्ष प्रचण्ड त्यसमा तयार हुनुभएन । आजको बैठकमा पनि यस विषयमा छलफल भएको र सहमतिकै आधारमा महाधिवेशनको तयारीमा जुट्नुपर्ने दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

अध्यक्षद्वयको साक्षीको रुपमा वार्तामा सहभागी नेताहरूले बैठकको बारेमा केही बताउन चाहनुभएन । दुई अध्यक्षबीचको मन माझामाझ भएपनि ठोस सहमति भने नभएको उहाँहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?