logo
२०८० चैत्र १६ शुक्रवार



बाँकेमा अब १२ जना मात्र निको हुन बाँकी, जिल्ला कोरोना शून्य हुँदै

फिचर |
पढ्नै पर्ने |


बाँकेमा अब १२ जना मात्र निको हुन बाँकी, जिल्ला कोरोना शून्य हुँदै


सिराज खान

नेपालगञ्ज, असार ३१ गते । बाँके जिल्लाका आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम तीव्र भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या पनि दिनदिनै घट्दैगएको छ ।

बुधबार बाँकेका विभिन्न आइसाेलेसन अस्पताल र सेन्टरबाट थप सात जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बुधबार सात जना डिस्चार्ज भएपछि अब निको हुन बाँकी रहेकाहरूको सङ्ख्या १२ जना मात्र रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले दिनदिनै करिब २०० जनाको कोरोना परीक्षण गरिए पनि सङ्क्रमित थपिने क्रम निकै कम भएको र आइसोलेसनबाट निको भएर फर्किनेहरूको सङ्ख्या बढी भएकोले अब १२ जना मात्र सङ्क्रमित जिल्लामा रहेको बताउनुभयो ।

अब थपिने क्रम रोकिने र निको भएर सबैजना घर फर्किएपछि बाँके जिल्लालाई कोरोना शून्य जिल्ला घोषणा गरेर अगाडि बढ्ने फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

बुधाबार डिस्चार्ज हुनेहरूमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा रहेका खजुरा गाउँपालिका वडा नं–१ का ३० वर्षीय पुरुष, आइसोलेसन सेन्टर आदर्शनगरमा रहेका खजुरा-२ का एक ३६ वर्षीया, खजुरा-६ का एक २५ वर्षीया र ४ वर्षीया बालिका, आइसाेलेसन सेन्टर पिपरीमा रहेका कोहलपुर-२ का २३ वर्षीया महिला, नाै वर्षीय बालक र ३९ वर्षीय पुरुष रहेका छन् ।

जिल्लामा अब १२ जना कोरोना सङ्क्रमित मात्र विभिन्न आइसोलेसनमा रहेको र उनीहरू पनि केही दिनमै निको भएर घर फर्किनेछन् ।

बुधबार बिहानसम्म बाँकेमा देखिएका ३७५ जना सङ्क्रमितमध्ये हालसम्म ३६१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने दुई जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा क्वारेन्टाइनबाट हालसम्म छ हजार ७०८ जनाको र सङ्क्रमितको 'कन्ट्याक्ट ट्रेसिङ'बाट दुई हजार ७६१ जना गरी जम्मा नाै हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?