logo
२०७७ श्रावण २८ बुधवार

वायुले बाटो नबदले ठूलो झुण्ड आउनसक्ने, विषादी प्रयोग नगरिने

मुख्य समाचार |
पढ्नै पर्ने |


2020-07-13-18400


केशबराज पौडेल
काठमाडौँ, असार २९ गते । दुई साताअघि पाँच लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भाेग्नुपरेन । शनिबार बिहान ९ बजे दाङमा १५ लाखको सङ्ख्यामा प्रवेश गरेको सलह निकै सक्रिय भएसँगै त्यसले क्षति पुर्याउनेमा मध्यपश्चिमका किसान चिन्तित भएका छन् ।

हावाको गतिका आधारमा अहिलेसम्म नेपालमा अरु झुुण्ड पनि भित्रिने सक्ने सम्भावना उत्तिकै छ । हावाको गति मङ्गलबारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ । तर अहिलेको अवस्थामै हावाको गति रहने हो भने, नेपालगञ्ज,कैलाली र कपिलवस्तुबाट सलहको झुण्ड नेपाल आउन सक्छ ।

नेपालका बोर्डरबाट एक सय किलोमिटरको दूरीमा सलहका झुण्ड सक्रिय भएकाले तिनीहरू नेपाल आउनसक्ने सम्भावना निकै रहेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताउनुुभयो । लखनउ, बहराइचमा सक्रिय रहेका सलहको झुण्ड नेपाल आउनसक्ने धेरै सम्भावना छ । सुवेदी भन्नुुहुन्छ, ‘अहिलेकै हावाको मोड रहेमा मङ्गलबार र बुधबारसम्ममा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तरप्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको छ ।’

याे पनि पढ्नुहाेस्

कसरी थाहा हुन्छ, कता जाँदैछन् र कति सङ्ख्यामा छन् ?

सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले नेपालमा धेरै ठाउँबाट सलह प्रवेशको सम्भावना देखिएपछि त्यसको अनुगमन तथा प्रदेश तथा स्थानीय तहहरूलाई त्यसको जानकारी दिएको बताउनुभयो ।
दाङमा प्रवेश गरेको सहल अहिले प्यूठानको प्यूठान नगरपालिका र माण्डवी गाउँपालिकामा सक्रिय भएको उहाँले बताउनुभयो । त्यहाँका कृषकहरूले सामूहिक रुपमा सलह भगाउन, आगो बाल्ने, टिन बजाउने काम गर्ने भएकाले सलह बस्न नपाएको उहाँले बताउनुभयो । तर नेपालका पूर्वी नाका तथा पश्चिमबाट सहल प्रवेश गर्ने सम्भावना उत्तिकै भएकाले सबै स्थानीय सक्रिय बनेर लाग्न आवश्यक रहेको भनेर जानकारी पठाइसकेको उहाँले बताउनुभयो ।

रासायनिक विषादी प्रयोग नगर्ने कार्यदलको निष्कर्ष 
सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले नेपालमा रासायनिक विषादीको प्रयोग गर्न नहुने निस्कर्ष निकालेको बताउनुभएको छ ।
नेपालको हावापानीमा लामो समय टिक्न नसक्ने भएकाले सलहलाई सकेसम्म समाएर नष्ट गर्नु उपयुक्त रहेको निस्कर्ष निकालिएको उहाँले बताउनुभयो । हुमागाईंले भन्नुभयो, 'नेपालमा विदेशमा जस्तो एकै ठाउँमा खेती छैन, रासायनिक विषादी प्रयोग गर्दा एकै ठाउँमा खेती हुने र घरगोठसमेत हुने भएकाले त्यसले नराम्रो असर पार्न सक्ने भएकाले नेपालमा रासायनिक विषादी प्रयोग गर्ने विधि उपयुक्त हुन नसक्ने निष्कर्ष निकालिएकाे हाे ।'

‘यसअघि नेपालमा ५२ जिल्लामा सलह प्रवेश गर्याे अधिकांश जिल्लामा त्यसले धेरै असर गरेन, निक्कै प्रभावित केही जिल्लाहरू मात्रै भए, सबै जिल्लामा रासायनिक विषादी प्रयोग नगरेकै राम्रो देखियो’ हुमागाईंले भन्नुभयो ।

पन्ध्र दिनअघि फरक फरक दिनमा सलहका स–साना झुण्ड नेपाल प्रवेश गरेका थिए । तिनीहरू आकार सानो बन्दै जाँदा क्रमशः कमजोर बनेका थिए । हावापानी अनुकूल नभएपछि तिनीहरू आफैँ मरेका थिए । तर शनिबार दाङबाट प्रवेश गरेका सलह प्यूठानमा सक्रिय बनेका छन् । नेपालमा हावाको गति पूर्वोत्तर दिशातर्फ रहेकाले भारतबाट सलहको झुण्ड शनिबार पुनः नेपाल प्रवेश गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताउनुभयो ।

नेपाल प्रवेश गरेको सलहको झुण्डको सङ्ख्या १५ लाख हाराहारीमा रहेको सुवेदीले बताउनुभयो । शनिबार दाङमा प्रवेश गरेको सलहको झुण्ड दाङमा नबसी प्यूठानतिर अघि बढेको सुवेदीले भन्नुभयो । ‘बिहानदेखिनै प्यूठानमा बस्न खोजेपछि त्यहाँका किसानहरूले थाल ठटाएर र आगो बालेर सलहको झुण्डलाई बस्न नदिएपछि सलह प्यूठानमै घुमिरहेको छ’ उहाँले भन्नुभयो ।

प्यूठानको आकाशमा हावासमेत गोलचक्कर भएर घुमिरहेकाले सलहको झुण्ड आकाशमै घुमिरहेका छन् । शनिबार बिहान ९ः३० बजेतिर भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा झुण्ड दाङको गढवा गाउँपालिकाबाट नेपाल प्रवेश गरेको हो । तर त्यो दाङमा नबसी साेझै प्यूठानतर्फ अघि बढेको थियो । त्यही झुण्ड प्यूठानमा बस्न नपाएपछि फेरि दाङकै राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा दिउँसो एक बजे देखापरेको थियो ।

दाङका कृषकहरूले आगो बालेर र ध्वनि निकालेर सलहको झुण्डलाइ बस्न नदिएपछि सो झुण्ड प्यूठानतिर लागेको थियो । वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीले सलहले प्यूठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहनुहुन सम्बन्धित सबैमा अनुरोध गरेर सूचना गरिएको बताउनुाभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?