logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौँ उपत्यकामा काेराेना परीक्षण गर्न पाँच हजारको नमूना सङ्कलन   

खुला |


काठमाडौँ उपत्यकामा काेराेना परीक्षण गर्न  पाँच हजारको नमूना सङ्कलन   


काठमाडौँ, असार २६ गते । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भिडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउन नमूना सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।    
    
महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरिने बताउनुभयो । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ । यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना सङ्कलन गरिनेछ । उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो ।

महाशाखाका वरिष्ठ वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना सङ्कलन गरिसक्ने बताउनुभयो । महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना सङ्कलन गरेको थियो ।    

यस्तै आज ललितपुरको भँसेपाटी, काठमाडौँका नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना सङ्कलन गर्दै छ । उहाँले दैनिक पाँच दिनसम्म एक हजारको दरले नमूना सङ्कलन गरिने बताउनुभयो । केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ । केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए ।    
    
यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ ।

अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?