logo
२०८० चैत्र ६ मंगलवार



सङ्क्रमित दम्पतीलाई आइसोलेसनमै सन्तानलाभ

फिचर |


सङ्क्रमित दम्पतीलाई आइसोलेसनमै सन्तानलाभ


शिवराज ढुङ्गाना
अछाम, असार २६ गते । कोरोना सङ्क्रमित भएर उपचारको क्रममा अछाम अस्पतालको आइसोलेसनमा रहेकी एक महिलाले शिशुको जन्म दिएकी छन् । मेल्लेख गाउँपालिका–४ कुष्कोट निवासी २५ वर्षीया कोरोना सङ्क्रमित महिलाले बिहीबार सोही अस्पतालमै पहिलो सन्तान पाएकी हुन् । सुत्केरी भएकी ती महिलाका श्रीमानसमेत कोरोना सङ्क्रमित भएर उपचारका क्रममा सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।

सामान्य तरिकाबाट बच्चाको जन्म दिएकी महिला र शिशुको स्वास्थ्य सामान्य रहेपनि आमा र बच्चामा कडा निगरानी गरिएको बताइएको छ । “कोरोना सङ्क्रमित महिलाले बच्चा जन्माएकी छन्, दुवैको अवस्था अहिलेसम्म सामान्य छ ।” अछाम अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मनोज विष्टको भनाइ छ । बच्चालाई कोरोना सङ्क्रमणको आशङ्कामा आमा र बच्चालाई दूध चुसाउने समयबाहेक अलग्गै राखिएको छ । “दूध चुसाउने बेलामा सुत्केरीले स्तन धुने, मास्क र पञ्जा लाउने गरेका छौँ ।” डाक्टर विष्टको भनाइ छ ।

नवजात शिशुमा कोरोना सङ्क्रमण भए-नभएकोबारे जाँच्न केही दिनमा थ्रोट स्वाब परीक्षणका लागि पठाउने तयारी भएको अस्पतालको भनाइ छ । गर्भवती रहेकी कोरोना सङ्क्रमित पतिपत्नीलाई असार ४ गतेबाट अछाम अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । केही हप्ताअघि आकस्मिक बाहेकका सेवा बन्द गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि अछाम अस्पताल क्षेत्र सिल गरिएको छ ।

गर्भवती रहेकी महिलाका दम्पति भारतबाट आएर वडाकै क्वारेन्टाइनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएकै दिन दम्पतीलाई अस्पतालमा ल्याएर उपचार भइरहेको छ । अछाममा हालसम्म ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?