logo
२०८० चैत्र ६ मंगलवार



केबल सञ्चालकद्वारा भ्रामक समाचार प्रसारण गर्ने भारतीय च्यानल बन्द गर्ने निर्णय

फिचर |
पढ्नै पर्ने |


केबल सञ्चालकद्वारा भ्रामक समाचार प्रसारण गर्ने भारतीय च्यानल बन्द गर्ने निर्णय


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २५ गते । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकहरूलाई आग्रह गर्दैआएका थिए ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतले सामूहिक रुपमा आजतक, जीन्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार, सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको छ । भारतीय टिभी च्यानलहरूले नेपालको अद्यावधिक नक्सा प्रकाशनलगायत आन्तरिक राजनीतिक तथा कूटनीतिक मर्यादाविपरीतका विषयमा तराई मधेशका नेतासमेतको नाम जोडेर भ्रमपूर्ण समाचार प्रसारण गरिहेका छन् ।

प्रबन्ध निर्देशक आचार्यले भारतीय च्यानलमा नेपालविरोधी ‘कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रुपमा भारतीय च्यानल बन्द गरिएको बताउनुभयो । उहाँले युट्युबलगायत इन्टरनेटका माध्यमबाट आउने नेपालविरोधी सामग्री रोक्न सरकारले विशेष पहल थाल्नुपर्ने समेत बताउनुभयो । उहाँले भारतीय च्यानलको ‘डाउनिङ’ लाइसेन्स नै खारेज गर्न सरकारले सक्ने भन्दै ‘क्लिन फिड’ लागु गर्नुअघि नै इन्टरनेटबाट अनधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरू रोक्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?