logo
२०८० चैत्र १६ शुक्रवार



नेपालमा कोरोना भाइरसको जीन अध्ययन शुरु

फिचर |
पढ्नै पर्ने |


नेपालमा कोरोना भाइरसको जीन अध्ययन शुरु


काठमाडौँ, असार १६ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो ।

परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ ।

परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालयले उपकरणसमेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताउनुभयो ।

जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको सङ्कलित नमूना सङ्कलन गर्ने कार्य भइरहेको छ । “जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’’ उहाँले भन्नुभयो, “ भाइरस पत्ता लागेपछि कोभिड-१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’’ सबै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सिङ गरिरहेका छन् ।

परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्नेछ र यसपछि ५० देखि ६० जनाको गर्नेछ । उहाँ अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिनेछ । “हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्नेछौँ’’ उहाँले भन्नुभयो, “ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’’

अध्ययनबाट कोभिड-१९ को सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका सङ्क्रमित रहेकामध्ये ९८ प्रतिशत कोभिडश-१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ ।

सङक्रमित व्यक्तिको स्वाब र रगतबाट जीन सिक्वेन्सिङ गरिनेछ । जीन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिनेछ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जीनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उहाँले जीनको अध्ययनपछि गुणस्तरीय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतिमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताउनुभयो । उहाँका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?