logo
२०८० चैत्र १६ शुक्रवार



आइसोलेसनबाट भागे ६३ कोरोना सङ्क्रमित

पढ्नै पर्ने |


आइसोलेसनबाट भागे ६३ कोरोना सङ्क्रमित


कमल शर्मा
दैलेख, असार १२ गते । दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना काेराेना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना रातारात भागेकाे स्थानीय प्रशासनले बताएकाे छ ।  आइसोलेसन अस्पतालमा सङ्क्रमितहरूका लागि खाना पकाउने भान्सेहरूले आफूहरूलाई गाउँपालिकाले सेवा सुविधा नदिएको भन्दै खाना ढिलो पकाएर दिएपछि सङ्क्रमितहरू आइसोलेसन अस्पतालबाट भागेको इलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ ।

इलाका प्रहरी चौकी नौमुलेकै आडमा रहेको भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालबाट ६३ जना भाग्दासमेत प्रहरीले बिहान मात्र खबर पाएको थियो । नौमुले गाउँपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले आफू बजार आएको र बिहान मात्र भागेको भन्ने हल्ला सुनेको बताउनुभयो ।

उहाँले ९२ जना सङ्क्रमित रहेको आइसोलेसन अस्पतालबाट ६३ जना कोरोना सङ्क्रमित भागेको र अरू त्यही आइसोलेसन अस्पतालमै रहेको जानकारी दिनुभयो । भागेको ६३ जनामध्ये पाँच-सात जना बिहानै आइसोलेसन अस्पतालमै फिर्ता भएको र अन्यको खोजी कार्य भइरहेको जानकारी दिनुभयो । नौमुले इलाका प्रहरी चौकीले समेत त्यसको कमान्ड गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउदको नेतृत्वमा सुरक्षा टोली पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?