logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

अन्तर्राष्ट्रिय |


अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित


वासिङटन
जेठ २४ गते । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही वर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उहाँले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ ।

कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्तिलगायत विषयलाई उहाँले मुख्य एजेण्डाको रुपमा अगाडि सार्नुहुने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहनुभएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदवारी दिने निर्णय शुक्रबार राती भएको हो । निर्णय भएपछि उहाँले भन्नुभएको छ, “हाम्रो पार्टीमा धेरै विद्वान तथा क्षमतावान उम्मेदवारहरू अरु धेरै हुँदाहुँदै पनि मलाई अवसर दिनुभएकोमा म सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

उहाँले पार्टीको एकतासहित आफूहरू आउदो आम निर्वाचनमा जान लागेकोमा आफूलाई गौरव महसुस भएको पनि बताउनुभएको छ । आफ्नो पार्टीबाट सहजै उम्मेदवार बन्न पाउने अवस्था आउनु उहाँका लागि सफल पक्ष भएको राजनीतिज्ञहरूले बताएका छन् । उहाँको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहेका कतिपय उम्मेदवारहरूले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।

डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनाबी अभियानबाट आफू पछाडी हटेको घोषणा गर्नुभएको थियो । बाइडेनसँग अहिले एक हजार ९९५ जना डेलिगेडट्स रहेका छन् भने उहाँले चुनावी प्रचारप्रसारलाई अब झन सशक्त बनाउने बताउनुभएको छ ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उहाँलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदवार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उहाँले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

वर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्तिमार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ । ओबामाको समर्थनका कारण बाइडेनलाई अश्वेत मतदाताहरूको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहनु भएको थियो । उहाँ अहिले ७७ बर्षको हुनुभएको छ । उहाँलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप