logo
२०८१ बैशाख ७ शुक्रवार



गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुग्यो

पढ्नै पर्ने |


गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुग्यो


चन्द्रप्रकाश शर्मा 
पोखरा, जेठ १८ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड - १९ सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार आइतबारसम्म गण्डकी प्रदेशका ६ जिल्लाका २४ जनामा कोभिड - १९ को सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङमा ८ जना, स्याङ्जामा ७ जना, नवलपरासीमा ६ जना, तनहुँमा १, म्याग्दीमा १ र लमजुङमा १ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका अधिकांश विदेशबाट आएकाहरू रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिँदैआएको छ । सङ्क्रमित २४ जनामध्ये हालसम्म तीन जना निको भएर घर फर्किएका छन् । चैत पहिलो साता बेल्जियमबाट आएका बाग्लुङका १९ वर्षीया युवती, ६५ वर्षीया महिला र लमजुङ स्थायी घर भई काठमाडौँमा सङ्क्रमण पुष्टि भएका तीन वर्षीय बालक निको भई घर फर्किसकेका छन् ।

गण्डकी प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि परीक्षणको दायरासमेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म तीन हजार १९५ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा दुई हजार ९०७ जनामा कोरोना सङ्क्रमण नदेखिएको र २६८ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

स्याङ्जामा सङ्क्रमितको सङ्ख्या सात पुग्यो, सबै भारतबाट आएका
स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार स्याङ्जामा आइतबार थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट जेठ ११ गते जिल्ला भित्रिएका ५४ जनामध्ये ८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा दुईजनामा सङ्क्रमण देखिएको थियो । आइतबार सङ्क्रमण पुष्टि भएका २७ र ४० वर्षीय पुरुष भारतबाट आएर सिधै गल्याङको मालुङ्गा क्वारेटाइनमा बसेका थिए ।

जेठ १० गते भेटिएका सङ्क्रमितसँगै आएका चार र ११ गते आएकासहित ७५ जनाको स्वाब परीक्षणमा दुई जनाको पोजिटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानाकारी दिनुभयो । तीन सय ४१ जनाको स्वाब जिल्लामा लिइएकोमा पीसीआर विधिबाट सात जनामा कोरोना पुष्टि भएको हो भने ४५ जनाको नतिजा आउन बाँकी रहेको छ ।

तनहुँमा पहिलो सङ्क्रमण

दमौली समाचारदाता प्रकाशचन्द्र भट्टराईका अनुसार कोरोना सङ्क्रमित तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुष जेठ १० गते भारतबाट आएर गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेका ती व्यक्तिको तीन दिनअगाडि स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई सुरक्षित रुपमा आइसाेलेसनमा राख्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । तनहुँमा अहिलेसम्म ३२१ जनाको पीसीआर परीक्षण गरिएकोमा पहिलो पटक एक जनाको रिपाेर्ट नेगेटिभ आएको हो । हालसम्म तनहुँका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा ४६९ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?