logo
२०८१ बैशाख ८ शनिवार

  कर्णालीमा फैलिँदै कोरोना  



पाँच जिल्लाका १२३ जनामा कोरोना पुष्टि, एकको मृत्यु

पढ्नै पर्ने |


पाँच जिल्लाका १२३ जनामा कोरोना पुष्टि, एकको मृत्यु


ललित बसेल
सुर्खेत, जेठ १८ गते । नेपालमा कोरोना पुष्टि भएको दुई महिनासम्म कर्णाली प्रदेश कोरोनारहित थियो । जब जेठ ३ गतेदेखि भारतमा रहेका नेपालीहरू आउन थाले, त्यसपछि कर्णालीमा कोरोना पुष्टि हुने क्रम बढ्दै गएको छ ।

जेठ ४ गते कर्णालीमै पहिलो पटक दैलेख आठबीस नगरपालिकाका एक युवकलाई कोरोना पुष्टि भयो । त्यसपछि धमाधम कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । आइतबार बिहानसम्म कर्णालीमा १२३ जनामा कोरोना पुष्टि भएको छ । दश जिल्ला रहेको कर्णालीका पाँच जिल्ला दैलेख, सुर्खेत, सल्यान, कालीकोट र मुगुमा कोरोना देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट र रुकुमपश्चिममा आइतबारसम्म कोरोना सङ्क्रमण देखिएको छैन ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा ४८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले दैलेखपछि सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यस्तै कर्णालीमा परीक्षण गरिएका अन्य दुई जना बझाङ र बाजुराका एक/एकमा कोरोना पुष्टि भएको छ ।

सल्यानमा २५ जना र कालीकोटमा १८ जनामा एकैपटक कोरोना पुष्टि भएको हो । कोरोना सङ्क्रमण देखिएका सबै जेठको पहिलो साता भारतदेखि आएका हुन् ।  यसैगरी, कर्णालीमा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दश दिनअगाडि भारतदेखि आएका दैलेखको दुल्लु नगरपालिका ११ को क्वारेन्टाइनमा बस्नुभएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले उक्त पुरुषको मृत्युपश्चात स्वाब सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा पोजिटिभ आएको बताउनुभयो । कोरोनाबाट मृत्यु हुने दैलेखका पुरुष नेपालका सातौँ र कर्णालीका पहिलो मृतक हुनुभएको छ ।

कर्णालीका पाँच वटा जिल्लामा कोरोना सङ्क्रमित देखिएपछि अन्य जिल्लामा पनि त्रास बढेको छ । भारतबाट आउनेहरू प्रायः सबै जिल्लाका भएकोले अन्य जिल्लामा पनि कोरोना सङ्क्रमण देखिन सक्ने सम्भावना बढेको छ । कर्णालीको सीमा नाका सुर्खेतको बबईमा जेठको पहिलो सातायता भारतबाट आउनेको सङ्ख्या १६ हजार नाघेको छ ।

कर्णाली प्रदेश सरकारले कर्णालीमा २५ हजार बढी भारतबाट आउन सक्ने अनुमान गरेको छ । उनीहरू सबैको परीक्षण हुन सकेको छैन । चिकित्सकलगायत सबै निकायले परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । बिरामीको सङ्ख्या बढ्दै गएपछि आइसोलनलगायतको अभाव हुने देखिन्छ । प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतको प्रदेश अस्पताल र रुकुम पश्चिमको अस्पताललाई कोरोनाको विशिष्टकृत अस्पताल घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?