logo
२०८१ बैशाख ७ शुक्रवार



सुरु भयो छारुङमा सशस्त्रको भवन निर्माण प्रक्रिया

राष्ट्रिय |
फिचर |


सुरु भयो छारुङमा सशस्त्रको भवन निर्माण प्रक्रिया


लोकेन्द्रप्रसाद जोशी
दार्चुला, जेठ ९ गते । दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउन थालेको हो ।

अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने सरकारको तयारी छ । भवन निर्माणका लागि गत वर्ष नै सशस्त्रले १५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।

सडक नहुदा यो क्षेत्रसम्म पुग्नका लागि समस्या छ । नेपाली सेनाको फौज सडकको ट्रयाक खोल्नका लागी घाँटीबगर क्षेत्रमा बिहीबार पुगेको छ । सेनाले तिङ्कर जोड्ने घोरेटो बाटो र सडकको निर्माण गर्ने तयारी थालेपछि स्थानीय खुसी भएका छन् ।

व्याँसका स्थानीय समेत रहेका प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर व्याँस गाउँपालिका—१ छाङरु र तिङ्करवासीको वर्षाैँदेखिको सडक सपना पुरा गर्ने उद्धेश्यले सेनामार्फत सडक निर्माणको काम थालेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ । अझै त्यस क्षेत्रमा खाद्यन्नको सहज आपूर्ति, सीमा प्रशासन, भन्सार, भेटनरी कार्यालयको स्थापना गर्नु जरुरी रहेकोले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

दार्चुला-तिङ्कर सडक निर्माणको काम थाल्दै नेपाली सेना
दार्चुलाको घाँटीबगरमा बिहीबार नेपाली सेनाको सेक्सन प्लस फौज पुगेसँगै व्याँस गाउँपालिका—१ छाङरु र तिङ्कर जोड्ने घोरेटो बाटो र सडक निर्माणको तयारी भइरहेको छ । महाकाली करिडोरअन्तरगत दार्चुला तिङ्कर सडकको घाँटीबगरदेखि तिङ्करसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माण गर्ने योजनाअनुसार सेना त्यहाँ पुगेको हो ।

वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त सडक खण्ड निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेअनुसार दार्चुलाको व्यास गाउँपालिका—२ को घाँटीबगरदेखि तिङ्करसम्मको सडक र तत्काल २ मिटर चौडाइको ४ सय ५० मिटर घोरेटो बाटो सेनाले बनाउने भएको छ ।

बाटो बनाउने दुरी छोटो भए पनि जटिल भूगोल भएकाले सेनाले काम गर्न लागेको हो । निर्माण कार्यका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको सामान लिएर सेनाको हेलिकोप्टर घाँटीबगर पुगेसँगै वर्षौदेखिको सडक सपना पुरा हुने भन्दै व्याँसबासी हर्षित भएका छन् ।

सैन्य स्रोतका अनुसार बाटो निर्माणका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका निम्ति आवश्यक फौज, उपकरण एवम् अन्य सामग्रीसहितको टोली थप तैनाथ गर्ने तयारी छ । दार्चुला सदरमुकामबाट व्याँस गाउँपालिका—१ पुग्ने बाटो नहुदा बिहीबार मात्रै एक सय ७५ परिवार व्याँसीसौका समुदाय भारतीय बाटोको प्रयोग गरेर गाउँ फर्किएका छन् ।
व्याँस गाउँपालिका—२ को मौराभिटादेखि विभिन्न ठाउँमा ठूलो चट्टान र घाँटीबगरमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएपछि नेपाल सरकारले बजेट विनियोजन गरेर तत्काल घोरेटो बाटो र सडक निर्माण गर्ने निर्णय गरेअनुसार सेनाले काम थालेको हो । सडक खण्ड सञ्चालन भएपछि मात्रै स्थानीयहरू नेपालकै भूमि प्रयोग गरी गाउँबाट सहजै सदरमुकाम आवतजावत गर्न पाउनेछन् ।

दार्चुलाबाट १४ जिल्लाका तीन सय १९ नेपालीको उद्धार
भारतमा मजदुरी गर्न गई लकडाउनका कारण समस्यामा परेका विभिन्न १४ जिल्लाका नेपालीको दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाटबाट उद्धार गरिएको छ । दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल खुलाएर ३ सय १९ मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले जानकारी दिनुभयो ।
लकडाउनका कारण भारतमा अलपत्र परेका नेपाली नागरिकलाई दार्चुला र भारतको पिथौरागढ जिल्लाको समन्वयमा उद्धार गरिएको हो । भारतमा लकडाउन खुकुलो भएपछि समस्यामा परेका नेपाली नागरिक सीमामा आएर रोकिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाको तथ्याङ्क अनुसार दार्चुलाका एक सय २२ जना, बैतडीका ३९ जना, बझाङका १४ जना, कैलालीका तीन जना, कञ्चनपुरका छ जना, जुम्लाका २१ जना, अछामका पाँच जना, सुर्खेतका ५५ जना, दैलेखका २८ जना, डोटीका सात जना, रुकुमका तीन जना, बाँकेका नाै जना, रामेछापका छ जना र हुम्लाका एक जनाको उद्धार गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?