logo
२०७७ असार २८ आईतवार

कोभिड–१९ सँगै लामखुट्टेजन्य रोगका जोखिम बढ्दै

पढ्नै पर्ने |


2020-05-22-14850


यति बेला विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ । देशका विभिन्न स्थानमा धेरैजना सङ्क्रमित तथा सम्भावित सङ्क्रमितहरूलाई नियमन (क्वारेन्टाइन) तथा पृथक (आइसोलेसन)मा राखिएको छ । यो लेख तयार गर्दासम्म कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा रहेका करिब २१००० नेपालीहरू क्वारेन्टाइनमा छन् भने करिब ४५७ जना आइसोलेसनमा छन् । तथापि क्वारेन्टाइन स्थलमा राखिएका व्यक्तिहरूको उचित व्यवस्थापन तथा निगरानीको अभावमा रोगहरूको प्रकोप अझै बढ्ने पो हो कि ? भन्ने सन्त्रास पनि उस्तै छ ।

यसै समयमा प्रारम्भिक मनसुनको आभास गराउने गरी केही सातादेखि मौसममा परिवर्तन देखिएको छ र विभिन्न स्थानमा पानी परिरहेको छ । पानी परेसँगै लामखुट्टेबाट सर्ने रोगका लक्षणहरू पनि सुरु भइसकेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समयमा विशेष गरी मलेरिया तथा डेङ्गु ज्वरोजस्ता रोगहरूलाई समयमै रोकथाम गर्न सकिएन भने यी महामारीहरू विगत वर्षहरूभन्दा झनै विकराल बन्ने सम्भावना देखिन्छ । यस लेखमा यी रोगका कारण, लक्षण र बच्ने उपायका बारेमा चर्चा गरिएकाे छ ।

मलेरिया (औलो)
सामान्यतः नेपाली भाषामा मलेरियालाई औलो भनेर चिनिन्छ । यो रोग प्लाज्मोडियम परजीवी (प्यारासाइट) को कारणले लाग्दछ । प्लाज्मोडियमका पाँच वटा प्रजाति छन्, जसमध्ये नेपालमा बढी पाइने दुइ प्रजाति भाइभ्याक्स र फाल्सिफेरमले अरुभन्दा जटिल सङ्क्रमण निम्त्याउछन् । नेपालमा करिब ८०% भन्दा बढी मलेरिया सङ्क्रमण प्लाज्मोडियम भाइभ्याक्सका कारणले गर्दा लाग्दछन् । यो परजीवीको जीवनचक्र लामखुट्टे र मानिसमा सम्पन्न हुन्छ । प्लाज्मोडियम बोकेको एनोफेलेस जातको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा -यालको माध्यमबाट यी परजीवीहरू मानिसको शरीरभित्र प्रवेश गर्ने गर्दछन् ।


बायाँ चित्रः प्लाज्मोडियम स्पोरोजोइट । स्पोरोजोइट प्लाज्मोडियमको जीवनचक्रको एक अवस्था हो । स्पोरोजोइटको लम्बाइ १०–१५ माइक्रोमिटर र ब्यास १ माइक्रोमिटर हुन्छ । दायाँ चित्रः पोथी एनोफेलेस लामखुट्टे । प्लाज्मोडियम सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा स्पोरोजोइटहरू शरीरभित्र प्रवेश गर्ने गर्दछन् ।

विभिन्न तथ्याङ्कको आधारमा सन् १९५० देखि नेपालमा मलेरियाको प्रकोप बढ्न थालेको पाइन्छ । १९५४ मा बढ्दो सङ्क्रमणलाई रोक्नका लागि नेपाल सरकारद्वारा युएस्एआईडीको सहयोगमा मलेरिया रोकथाम परियोजना सार्वजनिक ग¥यो । त्यसपछि मलेरिया रोकथामका लागि विभिन्न कालखण्डमा नीति तथा परियोजनाहरूमा परिवर्तन हुँदै आएको देखिन्छ । फलस्वरुप मलेरियाको सङ्क्रमण घट्दो क्रममा छ । सन् १९८५ मा ४२,३२१ व्यक्तिमा देखिएको सङ्क्रमण गत वर्ष अर्थात् २०१९–२०२० मा आइपुग्दा १०६५ जनामा देखिएको छ । यही घट्दो अङ्कबाट प्रेरित भई नेपाल सरकारले सन् २०२५ सम्म मलेरियाको सङ्क्रमणलाई शून्यमा पुर्याउने लक्ष्य राखेतापनि विद्यमान कोभिड–१९ को महामारीले गर्दा त्यो लक्ष्यमा पुग्न थप चुनौतीहरू थपिएका छन् ।

डेङ्गु
डेङ्गु ज्वरो डेङ्गु भाइरसको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । डेङ्गु भाइरसका चार वटा प्रजातिहरू (डि.ई.एन.भि—१, डि.ई.एन.भि—२, डि.ई.एन.भि—३, डि.ई.एन.भि—४) छन् । ती सबै प्रजातिले नेपालमा सङ्क्रमण फैलाउने गरेको पाइएको छ । डेङ्गु भाइरस बोकेको एडिस इजिप्टि र एडिस एल्बोपिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट भाइरस मानिसमा सर्ने गर्दछ ।
नेपालमा पहिलोपटक डेङ्गुको सङ्क्रमण सन् २००४ मा चितवनमा देखिएको थियो । विगत पाँच वर्षमा डेङ्गुको सङ्क्रमण झनझन विकराल बन्दै आइरहेको छ । गत वर्ष नेपालमा अहिलेसम्मकै ठूलो मात्रामा डेङ्गु रोग विस्तार भएको थियो । उक्त महामारी ६८ वटा जिल्लामा फैलिँदा १४,६६२ भन्दा बढी मानिस सङ्क्रमित भएका थिए भने ६ जनाको ज्यान समेत गएको थियो ।

बायाँ चित्रः डेङ्गु भाइरस । यो भाइरस गोलाकार आकारको (करिब ४०– ६० नानोमिटर) हुन्छ । दायाँ चित्रः डेङ्गु लामखुट्टे (एडिस इजिप्टि)। यो लामखुट्टेको आकार (करिब ४-७ मिलिमिटर) अरु लामखुट्टेभन्दा केही सानो हुन्छ । साथै खुट्टामा सेता पाटाहरू हुन्छन् ।

विगत वर्षहरूभन्दा अहिले डेङ्गु सङ्क्रमण नेपाल लगायत अन्य छिमेकी मुलुकहरूमा छिटो सुरु भइसकेको छ । यसको पछाडि जलवायू परिवर्तन, अव्यवस्थित सहरीकरण अनि पृथ्वीको तापक्रममा अभिवृद्वि आदि कारणहरू भएकोे अनुमान गरिएको छ ।
नेपाल सरकारको तथ्याङ्क अनुसार करिब ६० भन्दा बढी डेङ्गु सङ्क्रमित बिरामीहरू भेटिएका छन् । यी बिरामीहरू काठमाडौँ, ललितपुरसहित उपत्यका बाहिरका जिल्लाहरू, रुपन्देही, कास्की, मोरङ, म्याग्दी, कपिलवस्तु र सुनसरीबाट छन् ।

नेपालमा मलेरिया र डेङ्गुको सङ्क्रमण दर (नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको महामारी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार)

डेङ्गु र मलेरियाको जोखिमबाट कसरी बच्ने ?
अहिलेसम्म मलेरिया तथा डेङ्गु ज्वरो विरुद्धकाे खोप तथा खास उपचार नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यी रोगबाट बच्ने उत्तम उपाय हुन् । लामखुट्टेको टोकाइबाट बच्नका लागि निम्न अनुसारका उपायहरूको अवलम्बन गर्न आवश्यक छ ।
 बाहुला भएको, पूरा शरीर छोप्ने तथा फिक्का रङ्गको कपडा लगाउने ।
 मलेरिया, डेङ्गु सङ्क्रमण भएको ठाँउमा भ्रमण नगर्ने ।
 सकेसम्म साँझपख घरबाहिर ननिस्किने ।
 लामखुट्टे भगाउने सामान (जस्तैः धुप, क्रिम आदि) को प्रयोग गर्ने ।
 झ्याल ढोकामा जालीको जडान गर्ने ।
 राति सुत्दा झूलको प्रयोग गर्ने ।
 पानीका भाँडा, ट्याङ्की, आदि छोपेर राख्ने ।
 घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी छन् भने पुर्ने, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने ।
 कसैलाई एक्कासी धेरै ज्वरो आए, आँखाको गेडी तथा टाउकोको पछाडिको भागमा धेरै दुखे, वाकवाकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जचाउँने ।
 पानीको नाली, ढल, पोखरी आदिको सरसफाइमा ध्यान दिने । सम्भव भएमा डढेको मोबिल, मट्टितेल यस्ता स्थानमा छर्किदिने ।


कोभिड १९ को महामारीमा मलेरिया र डेङ्गुको सङ्क्रमण

नोवेल कोरोना भाइरस । यो भाइरस एक सूक्ष्म भाइरस हो जसको आकार १५० देखि १६० नानोमिटर हुन्छ । शक्तिशाली माइक्रोस्कोपबाट हेर्दा भाइरसको कोष बर्तुल आकृतिको हुन्छ । साथै यसको वरिपरि भाइरसका प्रोटिनहरू काँडाजस्तै गरी निस्किएको हुनाले यसको नाम कोरोना राखिएको हो ।

अहिले विश्व अर्थतन्त्रको ठुलो अंश तथा दक्ष जनशक्ति नोवेल कोरोना भाइरसको अनुसन्धानमा परिचालन भइरहेको छ । यसको प्रत्यक्ष प्रभाव बर्सेनि आउने मलेरिया, डेङ्गुजस्ता महामारीको पहिचान तथा रोकथाममा परेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको हालै प्रकाशित तथ्याङ्क अनुसार लामखुट्टेबाट सर्ने सङ्क्रमणकोे उच्च जोखिममा रहेका ३७ भन्दा बढी देशहरूमा कोभिड–१९ फैलिइसकेको छ । यद्यपि कोरोना भाइरसको सङ्क्रमणलाई न्यूनीकरण गर्न देश विदेशमा बन्दाबन्दी (लकडाउन) जारी छ । यसले गर्दा यस्ता रोगबाट बच्न चाहिने आवश्यक सामग्रीहरू जस्तै झुल, औषधी, डायग्नोस्टिक किट्सको निर्माण तथा आयात निर्यातमा असर परेको छ ।
लकडाउनका कारण सहरी क्षेत्रमा होटेल, उद्योग कल–कारखानाहरू बन्द छन् । यसको प्रभाव सरसफाइमा तथा फोहोर व्यवस्थापनमा परेको छ । त्यस्तै खाल्डाखुल्डी तथा फोहोरका कन्टेनरहरूमा वर्षातको पानी जम्मा हुन गई लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण मिलेको छ ।
कोभिड–१९ का बिरामीमा पनि मलेरिया र डेङ्गुको सङ्क्रमणमा जस्तै उच्च ज्वरो आउने गर्दछ । मिल्दो लक्षणका कारण पनि यी रोगहरूको सही पहिचानमा थप जटिलता थपिएको छ । हालसालै सिङ्गापुरमा दुई जना कोभिड–१९ सङ्क्रमित बिरामीको रगतमा गरिएको डेङ्गुको ¥यापिड टेस्टमा मिथ्याङ्क (फल्स पोजिटिभ) नतिजा आएको छ । उक्त नतिजा डेङ्गु र नोबल कोरोना भाइरसको बाहिरी सतहमा भएको केही समानताका कारण आएको अनुमान गरिएता पनि यसले रोगको सही पहिचानमा थप चुनौती थपेको छ । त्यसैले पनि ¥यापिड टेस्ट अनि एउटा मात्र कम्पनीको किटको आधारमा बिरामीलाई नतिजा दिनुभन्दा अगाडि रोगका सङ्केतहरू, सङ्क्रमणको समयमा बिरामीको स्वास्थ्य पृष्ठभूमि र सम्भव भएसम्म पिसिआर विधिबाट नतिजा निश्चित गर्नु आवश्यक देखिन्छ ।
हालसालै कोभिड–१९ को नियमनमा बस्दै गरेका सुदूरपश्चिम प्रदेशका १५ जनामा मलेरिया सङ्क्रमण देखिएको छ । दिनानुदिन मलेरियाको उच्च जोखिममा रहेका छिमेकी मुलुकबाट स्वदेश फर्किने तथा फर्किन चाहने नेपालीहरूको सङ्ख्या पनि बढ्दोे छ । यस अवस्थामा उनीहरूलाई कोरोनाको क्वारेन्टाइनमा राखिँदै गर्दा यस्ता लामखुट्टेजन्य रोगको परीक्षण गर्नु अत्यावश्यक देखिन्छ । साथै घरमै बस्नेहरूले पनि लामखुट्टेजन्य रोगविरुद्ध उच्च सर्तकता अपनाउन अनिवार्य देखिन्छ ।

लेखकद्वय
डा. प्रमोद सुवेदी ( पिएचडि, बायोकेमेस्ट्री एण्ड जेनेटिक्स, ला ट्रोब युनिभर्सिटी,अष्ट्रेलिया)
डा. कृतिका पौडेल (पिएचडि,कम्युनिटि हेल्थ नर्सिङ्ग, होक्काइडो युनिभर्सिटी, जापान)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?