logo
२०८१ बैशाख ८ शनिवार



भावनात्मक बनेर नेपाल फर्कने हठ देखाउनु भन्दा सुरक्षित बसौं

पढ्नै पर्ने |
विदेश |
अन्तरवार्ता |


भावनात्मक बनेर नेपाल फर्कने हठ देखाउनु भन्दा सुरक्षित बसौं


राजेन्द्र अर्याल (जोन )

उप–संयोजक (एनआरएनए) मध्यपूर्व

विश्वमा फैलिदै गएको कोरोना संक्रमण अर्थात ( कोभिड–१९ ) ले आम मानिसमा त्रसित पारेको छ । मानिसको दैनिक जिवन लगायत आर्थिक पक्षमा समेत नराम्रो संग प्रभाव पार्न थालेको छ । विश्वको अर्थतन्त्रमा नै ठुलो हलचल ल्याउने आकंलन गर्न थालिएको छ । बिभिन्न कामको शिलशिलामा विदेशी मुलुकमा कार्यरत नेपालीमा पनि ठुलो असर पार्न थालेको छ । यस्तै धेरै नेपाली रहेको खाडी मुलुक पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेका छैनन् ।

खाडीका मध्यपूर्व क्षेत्रमा १५ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको बताइन्छ । खाडीका मुलुकहरुमा नेपालीहरु कोरोना संक्रमणबाट के कस्ता समस्या भोग्नु परेको अवस्था छ । यसै समसामयिक विषयमा गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले (एनआरएनए) मध्यपूर्वका उप–संयोजक राजेन्द्र अर्याल (जोन) संग गनुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ।

तपाई अहिले कुन देशमा हुनुहुन्छ त्यहाँ नेपालीहरुको अवस्था कस्तो छ ?

म अहिले मेरो कर्म भूमि साउदी अरबमा छु । यहाँ अहिले सम्म कोभिड(१९) संक्रमण बाट चार जना नेपाली पनि पर्नु भएको थियो । जसमध्ये तीन जना उपचार गरि कम्पनीमा फर्की सक्नु भएको छ र एक जनाको थपउपचार भइरहेको छ । थप जानकारी नेपाली राजदूतावास रियादबाट हामीलाई आएको छैन ।

कोरोना संक्रमण फैलदै जाँदा नेपालीहरुले के–के समस्या भोग्नु परेको अवस्था छ बताईदिनुहोस् न ? साथै मध्यपूर्वमा जम्मा कति नेपाली रहेका छन् ?

(कोभिड–१९) बिश्वब्यापी रूपमा महामारी फैलिरहेको परिपेक्ष्यमा मध्यपूर्व ब्यापारिक हब भएकोले संक्रमण नहुने कुरै भएन । १५ लाख भन्दा बढी नेपालीहरु कार्यरत यस क्षेत्रमा भाईरसको कारण धेरैले रोजगारी गुमाउनु पर्ने र धेरै भन्दा धेरै नेपाली अलपत्र पर्न सक्ने संकेतहरु देखिन थालेका छन् । साना तथा मझौला अधिकांश कम्पनी बन्द छन् भने क्रमिक रूपमा बन्द हुने क्रम जारी छ । फलतः ती कम्पनीमा कार्यरत नेपाली केही बिचल्लीमा परिसकेका छन, केही थपिदैछन् ।
तपाईले मध्यपूर्वको प्रतिनिधित्व गर्नुहुन्छ मध्यपूर्वका कुन–कुन देशमा नेपालीहरु बढी समस्यामा परेका छन् ?
समग्र मध्यपूर्वमै जो बैधानिक स्टाटस (लिगल बसाइमा) हुनुहुन्छ, उहाँहरुमा त्यति समस्या छैन तर जो अवैधानिक हुनुहुन्छ । नेपाल फर्किन एकजिट भिसाको पर्खाईमा हुनुहुन्छ, उहाँहरुमा समस्या देखिएको विशेष गरेर युएईमा अलि धेरै यस्ता समस्या देखिएको छ ।

मध्यपूर्वमा खान वस्न गाह्रो भएका अर्थात वेरोजगारी नेपालीको तथ्याङक कति छ जानकारी दिनुहोस् न ?

अहिले हामी सुरुवाती चरणमा नै छौं सबै जना सम्पर्कमा आईसक्नु भएको छैन आउने क्रम जारी छ । समस्यामा पर्नु भएकाहरूको तथ्याङक सङ्कलन गरि मानवीय आवश्यकताका राहत सामाग्री पु-याउँदै आएका छौं ।

मध्यपूर्वको एनआरएनएले समस्या परेका नेपालीलाई विभिन्न सहयोग गरिरहेको भन्ने सुनिन्ने गरिन्छ कसरी सहयोग गरिरहेको अवस्था छ ?

हो सम्पूर्ण मानब जीबन संकटमा रहेको अबस्थामा हामीले नगरे कसले र कहिले गर्ने अहिले देखिएको समस्या भनेको खान या बस्न नपाउनु नै हो । यसमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरुले आ–आफ्नो क्षेत्रमा बास्तविक पीडित पहिचान गरि मानवीय आधारभूत आवस्यकताको राहत सामग्री पुराउँदै आएको छ ।

त्यहाँ स्थित नेपाली राजदूतावास र एनआरएनए बीच समस्या परेका नेपालीको बारेमा समन्वय भएको छ कि छैन् कसरी काम अगाडि बढेको अवस्था छ ?

मध्यपूर्वका सम्पूर्ण नेपाली राजदूतावासबीच समस्या परेका नेपालीको बारेमा समन्वय भईरहेको छ ।
यहाँस्थित नेपाली दुताबासहले नेपाली समुदायलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सम्बन्धी सचेतना र जानकारीहरू दैनिक रुपमा शेयर गर्ने गरेका छन् ।
विशेष रुपमा नेपाली राजदूतावास रियाद, साउदी अरबले सचेतना गराउन समय समयमा सामाजिक सञ्जाल मार्फत सूचना दिएर सुसुचित गर्ने कार्य गरिरहेको छ । जुन प्रशंसनीय छ । यहाँको प्रशासनबाट औपचारिक जानकारी हुनासाथ दुतावासले शेयर गर्ने गरेको छ ।

केही देशले त्यहाँ कार्यरत नेपालीलाई आफ्नो देशमा जानको लागी दवाव दिएको भन्ने पनि सुनिन्छ मध्यपूर्वका देशहरूले साच्चिकै दवाव दिएका हुन वा हल्लामात्रै हो, वास्तविक यर्थाथ के हो जानकारी दिनुहोस न ?
खाडीका मुलुकहरूमा बैधानिकता गुमाएर पनि धेरै कामदारहरू रोजगारमा संलग्न थिए, बजार बन्द भए संगै त्यस्ता कामदारले रोजगारी गुमाएर पहिलो जोखिममा छन् । त्यस्तै कुवेत सरकारले अनअधिकृतरूपमा रहँदै आएका आप्रबासी कामदारहरूलाई समय सीमा दिएर आफ्ना मुलुक फर्क भनेर आह्वान गरिरहेको छ ।

यो आफैमा प्रसंसनीय पनि छ हो, ज–जस्ले काम गुमाएका छन् । यो लकडाउन अझ लम्बिन सक्ने र सरकारले दिइएको समय सीमा समाप्त हुने र गाँसबासका जटिल तथा भयाबह समस्याको आंकलन गर्दै स्वदेश फर्कन चाहेको सहि हो ।
करिब करिब काम र बजार बन्द हुँदा अबको आगामी दिनहरुमा तलब नपाएपछि झन लाखौंको संख्यामा पीडित हुनेको संख्यामा बृद्धि हुने पक्का छ ।

मध्यपूर्वमा रहेका नेपाली फर्कन चाहनेको संख्या धेरै रहेको भन्ने सुनिन्छ अहिले नै नेपाल ल्याउन कति सम्भव र आवश्यकता देख्नुहुन्छ ?

नचाहेर पनि रोजगार गुमाइसकेपछि प्रबासमा अलपत्र भएर बस्नुभन्दा आफ्नो मुलुकमा जान खोज्नु नौलो कुरा भएन, एकै पटक लाखौंको संख्यामा नेपालीहरू नेपाल पुग्दा सरकारले कसरी ब्यबस्थापन गर्ने ? नेपाल सरकारले सोच्ने बिषय हो ।
कि त हाम्रा नागरिकहरूलाई उचित तरिकाले सुरक्षित संग राख्नु पर्यो भनेर सम्बन्धित मुलुकका सरकार संग कुटनैतिक छलफल गर्नु पर्यो ।

फर्किन चाहेमा नेपालीहरुलाई नेपाल सरकारले कुन तरिकाले नेपाल ल्याउन सजिलो होला जस्तो लाग्छ ?

वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद १२ दफा ७५ को उपदफा २ अनुसार कामदारलाई स्वदेश फिर्ता गर्ने ब्यबस्थामा भनिएको छ । नेपाली कामदार रहेको मुलुकमा युद्घ , माहामारी , प्राकृतिक बिपत्ति परि कामदारलाई तत्काल फिर्ता गर्नु पर्ने भएमा नेपाल सरकारले कुटनीतिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने ब्यबस्था मिलाउने छ । त्यसमा स्पष्ट ब्यबस्था गरिदिएको छ, तसर्थ वैदेशिक रोजगार बोर्डमा कामदारले तिरेको रकमबाट भए पनि बिचल्लिमा रहेका कामदारलाई नेपाल सरकारले कुटनैतिक तवरबाट स्वदेश फर्काउनु पर्दछ ।

अब कोरोनाको संक्रमण बढ्दै जाँदा आगामी दिनमा नेपालीहरुको रोजगारीमा कस्तो प्रभाव पर्ला जस्तो लाग्छ ?

यसको प्रभाव परिसकेको छ भाईरसको कारण धेरैले रोजगारी गुमाउनु पर्ने र धेरै भन्दा धेरै नेपालीहरु अलपत्र पर्न सक्ने संकेतहरु देखिन थालेका छन् । साना तथा मझौला अधिकांश कम्पनीहरु बन्द छन् भने बन्द हुने क्रम जारी छ । ती कम्पनीहरुमा कार्यरत नेपालीहरु बिचल्लीमा परिसकेका छन, हुने क्रममा छन ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अहिले मलाई पनि दैनिक जसो फोन कल आउने गरेको र प्रायः प्रश्न एकै हुने गर्छ ।
नेपाल कहिले जान पाईन्छ मध्य पूर्वमा रहने दाजु–भाई दिदीबहिनीहरुमा अनुरोध गर्न चाहन्छु । अहिले भावनात्मक बनेर नेपाल फर्कने हठ देखाउनु भन्दा पनि हामी जहाँ छौं केही समय त्यहि सुरक्षित बस्नु उचित हुन्छ ।
कोरोना भाइरसको संक्रमण सबैभन्दा बढि यात्राबाट फैलिएको छ संक्रमण नभएको व्यक्ति पनि अन्य मुलुकबाट नेपाल जाने क्रममा संक्रमित हुने सम्भावना बढी हुन्छ । त्यसैले अहिलेको अवस्थामा नेपाल जाँदा हामी सुरक्षित हँुदैनौ बरु केही कठिनाई भए पनि केही समय धैर्यता गरौं सावधानी अपनाऔं, कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऊ यही भन्न चाहन्छु ।
साथै मध्यपूर्वको बारेमा र मेरो व्यक्तिगत धारणा राख्ने ठाउ दिनु भएकोमा नेपालको सबै भन्दा ठूलो गोरखापत्रलाई धन्यवाद दिन चाहन्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?