logo
२०८० चैत्र १६ शुक्रवार



नौसय व्यक्तिको भीडमा सङ्क्रमितको २८ घण्टा बास

समाज |
पढ्नै पर्ने |


नौसय व्यक्तिको भीडमा सङ्क्रमितको २८ घण्टा बास



अविनाश चौधरी
धनगढी, चैत २२ गते । भारतबाट फर्किएका ९१४ जनाको भीड । चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न भने पाएन ।
नेपाल–भारत सीमा नाका बन्द गरिएकोले सुरक्षा निकायले उनीहरुलाई सिमानामै रोक्यो । नाकामै रात कटाएका नेपालीले चैत ११ गते विहानै नारा जुलुस गरे । उनीहरुको भीड जबरजस्ती नेपालतर्फ अगाडि बढेपछि सुरक्षाकर्मीले सामान्य बलसमेत प्रयोग गर्नुप¥यो । र, त्यो भीड पछाडि हट्यो ।
झन्डै २८ घण्टा नाकामै रोकिएको भीडमा सुदूरपश्चिम प्रदेशकोमात्रै नभई अरु प्रदेशका गरी १९ जिल्लाका ९१४ जना थिए । त्यही भीडमा हुनुहुन्थ्यो, कैलालीको लम्कीका २१ वर्षीय युवा । जसलाई कोरोना पोजेटिभ रहेको आजमात्रै पुष्टि भएको छ । मुम्बईबाट घर फर्किनु भएको उहाँलाई १३ दिनपछि कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो । भारतबाट फर्किएका विभिन्न जिल्लाका व्यक्तिहरुसंग उहाँले नाकामा झन्डै २८ घण्टा बिताउनु भएको थियो ।
नाकामा अलपत्र परेका उनीहरुलाई सङ्घीय सरकारको आदेशपछि चैत ११ गते १० बजे रातिमात्रै गन्तव्यतर्फ पठाइएको थियो । आज कोरोना सङक्रमित पुष्टि भएको व्यक्तिले नाकामा ठूलो भीडको बीचमा एक रात एक दिन बिताएको कैलाली प्रहरीले पनि पुष्टि गरेको छ । यो तथ्य बाहिरिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको खतरा र त्रास झनै बढेको छ ।
सङ्क्रमित व्यक्तिसँगै भीडमा रहेका व्यक्तिहरु विभिन्न जिल्लाको कुना–कुनासम्म पुगिसकेका छन् । उनीहरु सबैलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने आदेश दिइएको थियो । तर, सबै व्यक्ति क्वारेन्टाइनमा नरहेको बताइन्छ ।
गौरीफन्टा नाकाबाट प्रवेश गर्नु भएका सङ्क्रमित व्यक्तिलाई लम्कीचुहा नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । उहाँलाई चैत १२ गते क्वारेन्टाइनमा राखिएको जनाइएको छ । सो विद्यालयको क्वारेन्टाइनमा ४४ जना र सङ्क्रमित युवासंगै एउटै कोठामा थप तीन जनालाई पनि राखिएको लम्कीचुहा नगरपालिकाका नगर स्वास्थ्य संयोजक जयन्ती बिसीले बताउनुभयो ।
उहाँका अनुसार संक्रमित पुष्टि भएका युवालाई लक्षण देखिएपछि आज विहानमात्रै चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको हो । मुम्बईबाट फर्किनु भएका ती युवामा कोरोना पोजिटिभ भए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सङ्क्रमित पुष्टि भएका युवासँग बसेका थप अरुलाई पनि चेकजाँचका लागि ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका फोकल जयसिंह भण्डारीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ । तीन कैलाली र एक कञ्चनपुरका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको हो । जसमा भारतबाट आएका दुई र एक जना युनाइटेड अरब इमिरेट्सबाट आएका व्यक्ति रहनु भएको छ । अर्का एक जनामा भने बाहिरबाट कोरोना सङ्क्रमित भएर आएका व्यक्तिबाट सरेको छ । युएइबाट आउनु भएकै व्यक्तिबाट सरेर उहाँका भाउजुलाई कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि, सो परिवारका सबै सदस्यलाई प्रदेश सरकारले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको थियो । तर, लक्षण नदेखिएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा पठाइएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएका सबैको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?