logo
२०८१ बैशाख ८ शनिवार



सीमामा अलपत्र नेपालीलाई खाना खुवाउँदै भारतीय जिल्ला प्रमुख

विदेश |
पढ्नै पर्ने |
राष्ट्रिय |
फिचर |


सीमामा अलपत्र नेपालीलाई खाना खुवाउँदै भारतीय जिल्ला प्रमुख
नेपाल –भारत सीमामा अलपत्र नेपालीलाई खाना खुवाउँदै भारतको पिथौरागढ जिल्ला प्रमुख



गोकर्ण दयाल
बैतडी, चैत २० गते । कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन नेपाल –भारतमा भइरहेको लक डाउनकाबीच सीमा नाकामा अलपत्र परेका नेपालीको भारतीय अधिकारीले स्वास्थ्य परीक्षण गरेर खाना खुवाउन थालेका छन् ।

पश्चिम नेपालको भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतको पिथौरागढ जिल्ला प्रमुख डा. विजयकुमार जोदण्डे नेपालीलाई खाना खुवाउन आफैँ क्वारेन्टाईनमा पुग्नु भएको हो ।

सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेर झुलाघाट, धारचुलाको बालुवाकोट र जोलजिवीमा राखिएको छ । क्वारेन्टाइना राखिएका एक हजार नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

लक डाउनकै बेलामा नेपाल आउनन भारतका विभिन्न सहरबाट नेपाली मजदुर सीमा नाका झुलाघाट र दार्चुलामा चार दिनदेखि अलपत्र थिए । अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षणपछि सुरक्षित क्वारेन्टाइनमा राखेर भारतीय अधिकारीले खाना खुवाएको भारतीय सञ्चारकर्मी प्रमोदकुमार भट्टले जानकारी दिनुभयो ।

बैतडीको झुलाघाट र धारचुलामा एक हजार नेपाली सीमा नाकामा अलपत्र परेपछि भारतीय अधिकारीहरु आफैँ खाना खुवाउन सीमा नाका पुगेको सञ्चारकर्मी भट्टले बताउनुभयो ।

भट्टले भन्नुभयो, –“ नेपाल –भारत दुबै देश अहिले कोरोनासँग संयुक्त रुपमा लडिरहेका छन् । दुबै देशले सीमा नाकाको गेट बन्द गरेर पूर्णतया लक डाउन गरेका छन् । यस्तो बेलामा भारतमा काम गर्न आएका नेपाली विभिन्न सहरबाट हिँडेर सीमा नाकामा आएर अलपत्र परेपछि भारतीय सुरक्षाकर्मी र जिल्ला प्रमुख आफैँ सीमा नाकामा खटिएका छन् ।”

रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली लक डाउनको १०औं दिनसम्म पनि पैदल हिँडेर सीमा नाकामा आउने क्रम रोकिएको छैन । सीमा नाकामा पुगेका नेपालीलाई पटक पटक गेट खोलेर नेपाल भित्र्याए पनि पैदल हिँडेर सीमा नाकामा आउनेको संख्या रोकिएको छैन ।

लक डाउनमा जो जहाँ हुनुहुन्छ त्यही बस्नु पर्ने र अलपत्रलाई दुबै देशका नागरिकको स्वास्थ्य परीक्षण र खाने बस्ने व्यवस्था गर्न नेपाल भारतबीच उच्चस्तरीय वार्तापछि सीमा नाकामा अलपत्र परेका नेपालीलाई उद्धार गरेर भारतीय अधिकारी आफैँ क्वारेन्टाइनमा पुग्न थालेका छन् । तस्बिर सहयोग - प्रमोदकुमार भट्ट, भारतीय सञ्चारकर्मी । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?