logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

मुख्य समाचार |


उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण


नगेन्द्र सापकोटा

काठमाडौँ, चैत २० गते । कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडाँैँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् । काठमाडाँै, भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि एक व्यक्ति एक बेडको अवधारणा अनुसार क्वारेन्टाइन निर्माण गरेका हुन् । उपत्यकास्थित १८ वटा नगरपालिकाभित्र गत तीन सातामा एक हजार २० जना विदेशबाट फर्किएका छन् भने एक हजार १९१ क्वारेन्टाइन बेड निर्माण भएका छन् ।
ती नगरपालिकाले आआफ्नो नगरपालिकाभित्र भएका अस्पतालसँग आपसी समन्वय गरी २८६ बेडको आइसोलेसन वार्ड निर्माण गरेका छन् । यहाँका सबै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने हो भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना नदेखिने जानकारहरूको भनाइ छ । उक्त नगरपालिकाले सामुदायिक विद्यालय, कलेज, सामुदायिक भवन, स्वास्थ्यचौकी र
क्लबका भवनमा कोरोना भाइरसका लक्षण देखिएका सङ्क्रमित व्यक्ति राख्नका लागि अग्रिम रूपमा क्वारेन्टाइन निर्माण गरेका हुन् । केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरी आआफ्नो क्षेत्रभित्र सम्भव भएका ठाउँमा कोरोना भाइरसका लक्षण देखिएका व्यक्ति राख्नका लागि क्वारेन्टाइन बनाउन निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार स्थानीय तहका जनप्रतिनिधिको अगुवाइमा क्वारेन्टाइन निर्माण गरिएको उपत्यका मेयर फोरमले जनाएको छ । कतिपय ठाउँमा नगरपालिकाले आफ्नै स्रोतबाट क्वारेन्टाइन बनाएका छन् भने केहीले नेपाली सेना र प्रहरीको समेत संयुक्त लगानीमा क्वारेन्टाइन निर्माण गरेको फोरमले जनाएको छ ।
फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले क्वारेन्टाइनमा कोरोना भाइरसका लक्षण देखिएका शङ्कास्पद बिरामी र विदेशबाट आएका नागरिकलाई नियमित रूपमा मेडिकल टिमको निगरानीमा राख्ने गरिएको बताउनुभयो । त्यस्ता व्यक्तिलाई त्यहीँ बस्ने, खाने र सुत्ने व्यवस्था मिलाइएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरस भएकै भए पनि परिवारका सदस्य, समुदाय र आफन्त लगायत अन्य व्यक्तिमा नसरोस् भन्नका लागि सुरक्षित गर्न क्वारेन्टाइन निर्माण गरिएको उहाँले स्पष्ट गर्नुभयो ।
क्वारेन्टाइन नबनेका नगरपालिकामा कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई घरैमा ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गरिएको ती नगरपालिका जनाएका छन् । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकामा नौ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमण हुन नदिन नगर क्षेत्रमा स्प्रे छर्ने, जनचेतना जागृत गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र सर्वसाधारणलाई साबुनपानीले हात धुने अभियान चलाइएको उहाँले बताउनुभयो ।
वडा नं. १ मा सहरी विकास विभागद्वारा गरिब निमुखा नागरिक बस्नका लागि बनाइएको भवनमा ३० बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको नागार्जुन नगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिका भने विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलनको क्रममा छ । ललितपुर महानगरमा अहिलेसम्म ४९ जना विदेशबाट फर्केको जनाइएको छ । महानगरभित्र विभिन्न सेवाका थुप्रै ठूला अस्पताल भएकाले आइसोलेसनको आवश्यकता नभएको महानगरपालिकाले जनाएको छ ।
सबैभन्दा धेरै कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा ५० बेडका दरले १० वटा वडामा गरी पाँच सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ भने सय बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ । त्यहाँ ५५ जना विदेशबाट फर्किएका छन् ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौँका ११ वटै नगरपालिकाले आआफ्नो हैसियत अनुसार क्वारेन्टाइन निर्माण गरेकाले विदेशबाट फर्किएका नागरिक अनिवार्य रूपमा दुई हप्तासम्म उक्त क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो । लकडाउनलाई पालना गरी घरैमा बस्दा कोरोना भाइरसको सङ्क्रमण नहुने भएकाले लक डाउनलाई पूर्णरूपमा कार्यान्वयन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?