logo
२०८१ बैशाख ८ शनिवार



थोकमा घट्यो, खुद्रामा छोइनसक्नु तरकारी

मुख्य समाचार |


थोकमा घट्यो, खुद्रामा छोइनसक्नु तरकारी


सीता शर्मा

काठमाडौँ, चैत २० गते । कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको छ ।
समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा तरकारी नियमित आइरहेकाले अघिल्लो साताको तुलनामा यो साता तरकारीको थोक मूल्य घटेको जानकारी दिनुभयो । समितिका अनुसार बुधबार प्रतिकेजी गोलभेँडा ३८, बन्दा ३३, काउली स्थानीय २२, घिउसिमी २२, सेतो मुला १९ रुपियाँ थोकमा कारोबार भइरहेको छ तर खुद्रा बजारमा यी तरकारीको भाउ चार गुनाभन्दा बढी महँगो छ ।
बजार अनुगमन नहुँदा खुद्रामा तरकारी भाउ मनपरी भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा सरकारको उपस्थिति नहुँदा तरकारीमा मात्रै नभई अन्य खाद्यान्नमा समेत व्यापारीले उपभोक्तामाथि लुट मच्चाएको आरोप लगाउनुभयो ।

गुनासो आए मात्रै अनुगमन
यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने आवश्यकताका आधारमा विभागले निरन्तर बजार अनुगमन गरिरहेको दाबी गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्ताको गुनासो आउनेबित्तिकै अनुगमनका लागि टोली खटाएको जानकारी दिनुभयो ।
साथै उहाँले देशमा अप्ठ्यारो परिरहेको बेलामा कसैले कालाबजारी गरेको वा ठगी गरेको प्रमाणित भएको खण्डमा कानुन अनुसार हदैसम्मको कारबाही गरिने बताउनुभयो । आम सचेत नागरिकलाई विभागमा रहेको निःशुल्क फोन नम्बर ११३७ मा फोन गरेर उपभोक्तामाथि भएको ठगीको सत्य सूचना दिन आग्रह गर्नुभयो ।

थोक र खुद्राको दुई चरणमा कारोबार
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बन्दाबन्दी अवधिभर थोक र खुद्राको दुई चरणमा कारोबारको व्यवस्था गरेको छ । थोक र खुद्रा बजार एकै पटक खुला गर्दा उपभोक्ताको धेरै ठूलो भीडभाड भएपछि समितिले मङ्गलबारदेखि लागू हुने गरी दुई चरणको व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
समितिका अनुसार थोक बजार बिहान २ बजेदखि ७ बजेसम्म र खुद्रा बजार बेलुका ५ बजेदेखि ७ बजेसम्म बजार सञ्चालन गर्ने व्यवस्था छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले बढी भीडभाड नगर्न भने पनि बजारमा भीड थेग्नै नसक्ने भएपछि मङ्गलबारदेखि बजारमा दुई चरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । बजारभित्र मोटरसाइकल लैजान रोक लगाएसँगै थोक बजारमा तरकारी किन्नेको भीड केही कम गएको बताउँदै उपनिर्देशक श्रेष्ठले यो बेलामा भीडभाडबाट बच्नुपर्ने भएकाले सकेसम्म कम भीड गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो ।

नाकाबाटै सीधा प्रवेशमा रोक
देशबाहिरबाट आउने तरकारीलाई नाकाबाट सीधै प्रवेशमा रोक लगाइएको छ । विशेषगरी भारतबाट भित्रिने तरकारीलाई नाका नजिकै रहेको तरकारी मण्डीमा राखेर अर्को गाडीमा लोड गरेर मात्रै प्रवेश गराउने व्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?