logo
२०८० चैत्र ६ मंगलवार



मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो

प्रदेश |


मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो


सुर्खेत, फागुन १७ गते । मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतको पहलमा शुक्रबार उक्त विवाद समाधान भएको हो ।

राजमार्ग सालकोट या बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा त्यस क्षेत्रका बासिन्दा विभाजित थिए । सहमतिअनुसार अब मदन भण्डारी राजमार्ग सालकोटको रुट भएर जानेछ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकको राजमार्गसरहकै स्तरोन्नति गरिनेछ । २० किमि लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाउन विस्तृत सम्भाव्यता अध्ययनको काम पनि शुरु गरिएको छ । अब यो सडक पनि मदन भण्डारी राजमार्गसरहकै मापदण्डअनुसार बन्नेछ । सालकोट र बाबियाचौर क्षेत्रका बासिन्दाको विवादका कारण पछिल्लो समय सर्भे कार्य रोकिएको थियो ।

राज्यमन्त्री रावतले खम्बागाडे पुगेर सम्भाव्यता अध्ययनको शुरुआत गर्नुभयो । विकासमा विवाद गर्न नहुने भन्दै उहाँले पश्चिम सुर्खेत राष्ट्रिय राजमार्गमा जोडिन सफल भएकामा खुशी व्यक्त गर्नुभयो । “निर्वाचनका बेलाको एउटा प्रतिबद्धता पूरा गर्दैछु, राजमार्गसँगै सोही मापदण्डको विद्यापुर जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन र आइईको काम पनि शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “विकासमा हामी सहयोगी बनौँ, सानातिना विवाद आएमा तत्कालै बसेर समाधान खोजौँ ।” उहाँले खम्बागाडे–विद्यापुर सडकका लागि आगामी वर्ष बजेट जुटाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले विकास निर्माणमा आउने विवादको समाधानको नेतृत्व गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

विवाद समाधानका लागि आयोजित भेलामा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, सालकोट÷बाबियाचौर क्षेत्रका बासिन्दाको उपस्थिति थियो । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रावतले सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक साताभित्र चिकित्सक पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?