logo
२०८० चैत्र ६ मंगलवार

  इस्टर्न रिजन कप क्रिकेट 



नेपालका लागि अवसरको ढोका खोल्ने प्रतियोगिता

पढ्नै पर्ने |
खेलकुद |


नेपालका लागि अवसरको ढोका खोल्ने प्रतियोगिता


इश्वरचन्द्र झा
काठमाडौं, फागुन १६ गते । एसीसी पुरुष इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । थाइल्याण्डमा सुरु हुन लागेको प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, हङकङ र थाइल्याण्ड गरी पाँच टोली स्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डले सिंगापुरको सामना गर्नेछ । पहिलो दिन दुई खेल हुने निर्धारण गरिएको छ । दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । कागज र विगतकाे प्रदर्शनलाई आधार मान्ने हो भन्ने नेपाली टोली मलेसियाभन्दा उत्कृष्ट देखिन्छ । तर वेस्टर्न रिजन कप टी ट्वान्टी प्रतियोगितामा ओमान लिग चरणबाटै बाहिरिएको नतिजाप्रति नेपाली टोलि सचेत रहेको कप्तानसहित टोलीका प्रशिक्षक समेत बताउनुहुन्छ ।

बिगतको प्रदर्शन
नेपाल र मलेसिया अहिलेसम्म टी ट्वान्टी खेलमा दुईपटक एक अर्काको सामना गरेको छ । सन् २०१९ को जुलाइन १३ र १४ मा नेपालले मलेसियाकै भूमिमा दुई म्याचको टी ट्वान्टी श्रृखंला खेलेको छ । दुबै खेलमा नेपालले जित हात पारेको छ ।
पहिलो खेलमा नेपालले सात विकेटको जित हात पारेको थियो । जसमा पारस खडकाले अविजित रहनुहुँदै ८६ रनको योगदान दिनुभएको थियो । दोस्रो खेलमा छ रनको जित हात पार्दा खडकाले २३ रन बनाउनुभएको थियो । अहिलेको टोलीमा पनि पारस खडका रहेकोले उहाँको अनुभवले मलेसियासँगको स्पर्धामा नेपाली टोलीले पक्कै सहज महसुस गर्नेछ ।
मलेसियाले यो बीचमा थुप्रै अभ्यास खेलमा सहभागी भएकोले उसले आफ्नो प्रदर्शनमा निरन्तर सुधार गर्दै लगेको छ । इस्टर्न रिजन कपको पूर्वसन्ध्यामा उसले हङकङसँगको पाँच म्याचको टी ट्वान्टी श्रृखंला ५–० ले जितेको छ । जसले मलेलिया उच्च आत्मबलसहित मैदानमा उत्रिनेछ ।
नेपालको अर्को प्रतिद्वन्दी सिंगापुर हुनेछ । सिंगापुरसँग पनि नेपालले बिगतमा राम्रो प्रदर्शन गरेर नतिजा आफ्नो पक्षमा ल्याएको थियो । हङकङ र थाइल्याण्ड नेपालले सामना गर्ने अरु दुई राष्ट्र छन् ।
प्रतियोगितामा सहभागी हुन थाइल्याण्ड पुगेको नेपाली क्रिकेट टोली सन्तुलित देखिएको छ । किशोर महतो नेपालको ज्याकेट लगाएर पहिलोपटक अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुँदै हुनुहुन्छ । भुवन कार्की लामो समयपछि टोलीमा फर्किनु भएकाे छ । ओमान र अमेरिका सम्मिलित एकदिवसीय श्रृखंलामा छनोट बाहिर रहेका पवन सर्राफले पनि इस्टर्न रिजनका लागि छनोट हुनुभएको छ ।
स्थिर ब्याटिङको आवश्यकता
ब्याटिङमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्नुभएका कुशल मल्लले ओपनिङ गर्ने सम्भावना बढी हुनेछ । पारस खडका वा कप्तान ज्ञानेन्द्र मल्ल मल्लसँगै ओपनिङका लागि उपयुक्त हुनुहुने छ । यसअघि मलेसिया विरुद्धको टी ट्वान्टी श्रृखंलामा पारससँगै सर्राफले ओपनिङ गर्ने जिम्मेवारी पाउँदा नेपालले औसत सुरुवात गरेको थियो । नेपालका लागि ओपनिङ गर्ने खेलाडीका विकल्प पनि प्रशस्त रहेकोले टोली व्यवस्थापनले उपयुक्त र सही निर्णय लिनुपर्ने हुन्छ ।
मध्यक्रममा आरिफ शेष, विनोद भण्डारी, सन्दीप जोराले नेपालले कमजोर सुरुवात गरेको खण्डमा स्थिरता दिएर लामो पारी खेल्नसक्ने क्षमता राख्छन् । पुछारमा पवन सर्राफ र करण केसीसँगै अविनाश बोहराले राम्रो फिनिश गर्ने क्षमता बोकेका छन् । नेपालले मलेसिया र सिंगापुर जस्ता राष्ट्र विरुद्ध पहिलो ब्याटिङ गर्ने अवसर पाए १७० रनसम्मको योगफल उपयुक्त हुनेछ ।

बलिङ नै बलियो पक्ष
करण केसी, पारस खडका, किशोर महतो बलिङ पक्षको नेतृत्व गर्नुहुने भएपनि नेपाली बलिङ आक्रमण सन्दीप लामिछाने र सुशन भारीमा विशेषतः निर्भर रहनेछ । पवन सर्राफ ब्याटिङ अलराउण्डर रहेकोले टोली व्यवस्थापनले सुशनको स्थानमा पवनलाई प्लेइंग एघारमा राख्ने सम्भावना बढी हुनेछ ।
यसअघि वेस्टर्न रिजनमा ओमानजस्ता शक्तिशाली राष्ट्र लिग चरणबाटै बाहिरिएको नतिजाले इस्टर्न रिजनमा पनि कम आँकलन गरिएको टोलीले अप्रत्याशित परिणाम नल्याउला भन्न सकिन्न । त्यसका लागि नेपाली टोली सजग र सचेत हुनुपर्छ । नियमित प्रशिक्षक नहुँदा नेपालका लागि जगत टमाटाकै प्रशिक्षकत्वमा नेपाली टोली इस्टर्न रिजन खेल्न थाइल्याण्ड पुगेको हो ।
इस्टर्न रिजन कप एशिया कपसम्म पुग्ने बाटो मात्रै नभई नेपालका लागि अवसरका अन्य थुप्रै ढोका समेत खोल्नेछन् । तसर्थ नेपालले उपाधि हात पार्ने लक्ष्य लिएर प्रतियोगिताको प्रत्येक खेल जित्ने उद्देश्यसहित मैदानमा उत्रिनुपर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?