logo
२०८० चैत्र ६ मंगलवार



रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने

फिचर |
पढ्नै पर्ने |


रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने


काठमाडौँ,  फागुन १६  गते । सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ ।

रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताउनुभयो । सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी छ । एक जना प्रमुखसहित रेल सञ्चालन र मर्मतलगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति आवश्यक छ । त्यससँगै प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको विभागले जनाएको छ ।

उहाँले भन्नुभयो, “कम्पनीमा अहिले महानिर्देशक नभएकाले हामीले नै पदपूर्तिको प्रक्रिया अघि बढाएका छौँ ।” रेल सञ्चालनका लागि रेलमार्ग निर्माण सम्पन्न भइसकेको छ भने रेल सेट निर्माण सकिएको विभागले जनाएको छ ।

भारतबाट हिँडेको रेल सेट झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । दुई सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्काे आइपुग्ने महानिर्देशक मिश्रले बताउनुभयो ।

सरकारले अहिले दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको विभागले जनाएको छ । हाल जयनगरबाट कुर्थासम्मको रेलमार्ग निर्माण सकिएकामा आगामी दिनमा यसलाई विजुलपुरासम्म विस्तार गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?