logo
२०८० चैत्र १६ शुक्रवार



गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन

अन्तर्राष्ट्रिय |


गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन


सान साल्भाडोर, फागुन १५ गते। एल साल्भाडोरको कङ्ग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानूनलाई अनुमोदन गरेको छ, तर राष्ट्रपति नायिब बुकिलीले प्रस्तावित कानुनमाथि विशेषाधिकार (भिटो) प्रयोग गर्ने चेतावनी दिनु भएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बुकिलीले यो कानुनले “सत्य, क्षतिपूर्ति र न्याय” को सिद्धान्तको प्रत्याभूति नगर्ने दाबी गर्नु भएको छ ।

सङ्क्रमणकालीन न्याय, पुनस्र्थापना तथा राष्ट्रिय मेलमिलापसम्बन्धी उक्त विशेष कानूनलाई कङ्गेसका ८४ सदस्यमध्ये ४४ जनाले अनुमोदन गरेका थिए । सर्वोच्च अदालतले युद्धपछिको माफीलाई असंवैधानिक घोषणा गरेको थियो । सर्वोच्चकै आदेशमा कङ्ग्रेसले यही फेब्रुअरी २८ तारिखभित्र नयाँ कानुन निर्माण गर्नुपर्ने थियो । यो कानून जनवरी १, १९८० देखि जनवरी १६, १९९२ सम्मको सशस्त्र द्वन्द्वको क्रममा “अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता र युद्ध अपराध” गर्ने कुनै पनि व्यक्तिमाथि लागू हुनेछ ।
तर डेमोक्र्याटिक चेन्ज पार्टी (सीडी) का सभासद् हुँवा जोजे मार्टेलले प्रस्तावित कानुनमा दाँत नभएको भन्दै यो “नक्कली मेलमिलाप कानून” हो भन्नुभयो ।
नागरिक समाज संघसंस्थाहरुले पनि प्रस्तावित कानुनप्रति असहमति जनाएका छन् । उनीहरुको भनाईमा यसले न्यायाधीशहरुलाई युद्ध अपराध वा मानवता विरुद्धको अपराधको अभियोग लगाएको व्यक्तिको सजाय घटाउने शक्ति दिएको छ । न्यायाधीश समक्ष आरोपित व्यक्तिले अपराधमा संलग्न रहेको रहेपनि पीडितसँग क्षमा मागेमा न्यायाधीशले माफी दिन सक्ने व्यवस्था कानुनमा गरिएको छ । “यो व्यवस्थाले त चाहिएको न्याय नै नपाइने देखाउँछ, र यो दण्डहीनता हो” पूर्व मानवअधिकार अधिवक्ता डेभिड मोरालेसले भन्नुभयो ।
विपक्षी दक्षिणपन्थी राष्ट्रवादी रिपब्लिकन एलायन्स (एआरइएनए) का जुलियो फेबियानले प्रस्तावित कानूनको बचाउ गर्दै भन्नुभयो, “मानवअधिकार उल्लङ्घनका पीडितहरूले भने न्याय पाउनु आवश्यक छ ।”
साल्भाडोरको गृहयुद्धमा ७५ हजारभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै ७ हजारभन्दा बढी मानिस बेपत्ता भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?