logo
२०८० चैत्र १५ बिहीवार



कागती खेतीबाट वार्षिक १५ लाख रुपियाँ आम्दानी

अर्थ |
पढ्नै पर्ने |


कागती खेतीबाट वार्षिक १५ लाख रुपियाँ आम्दानी


हरिप्रसाद कोइराला
लेटाङ(मोरङ),फागुन १० गते । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे ३ बिगाहा जग्गामा कागती खेती गर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका विनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । ३ विगाहामा वर्षभरि दुःख गर्दा मुस्किलले ५५/६० रुपियाँ कमाउने वस्ती कागतीको व्यवसायिक खेती गर्न थालेपछि ३ वर्षयता वार्षिक १५ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
वस्तीले आफ्नो नीजि जग्गामा मद्रासी जातको कागती खेती गर्नुभएको छ । २०७० सालमा कागतीकोे व्यवसायिक खेती शुरु गर्नुभएका वस्तीले विरुवा रोपेको तेस्रो वर्षदेखि आम्दानी लिन थाल्नुभयो । वस्तीले भन्नुभयो – ‘२०७३ मा ३० टन उत्पादन भयो । ०७४ मा ४० टन कागती निस्क्यो । २०७५ सालमा असिनाले चिचिला झारिदियो । त्यो वर्ष १० टन मात्र कागती उत्पादन भयो ।’
यो वर्ष उहाँले ३० टन कागती निकालिसक्नुभयो । अझै ४/५ टन निस्किने वस्तीको भनाइ छ ।

३ बिगाहामा कागती खेती गरिरहनुभएका वस्तीले अझै बजारको माग अनुसार कागती उत्पादन गर्न सक्नु भएको छैन । उहाँले भन्नुभयो – ‘मेरा जस्तै बगान २ सयवटा जति भए भने बल्ल माग धान्न सकिन्छ ।’ उहाँ आफ्नै कामदार लगाएर कागती टिप्नु हुन्छ र विक्रीका लागि इटहरी पु¥याउनुहुन्छ । दुईजना कामदारले वर्षभरिका लागि रोजगार पाएका छन् । त्यस्तै १० जना कामदारले ४५ दिन रोजगार पाउने गरेका छन् । दैनिक १० जना कामदारले डेढ टन कागती टिप्ने गरेको वस्तीको भनाइ छ ।

उहाँको आफ्नै गाडी छ । गाडीमा हालेर उहाँ इटहरी पु¥याउनुहुन्छ र विक्री गरेर २/३ बजे सम्ममा बगान आइपुग्नुहुन्छ । बजारको अभाव नभएकोले मूल्य नपाउने चिन्ता छैन । उहाँले भन्नुभयो – ‘विराटनगर, धरान र काठमाडौंदेखि पनि कागती किन्न आएका छन् तर दिन सकेको छैन ।’

कागतीको अथाहा बजार भए पनि उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो । माग उच्च भएपछि उहाँले कागती खेती विस्तार गर्न १५ हजार विरुवाको नर्सरी राख्नुभएको छ । खेती विस्तारसँगै बेलबारी नगरपालिकाले समेत विरुवाको माग गरेकाले नर्सरीसमेत विस्तार गरिरहेको उहाँले बताउनुभयो ।

सग्ला, राम्रा ठूला दाना कागती विक्रीका लागि बजार पु¥याउनुहुन्छ भने साना दाना कागती अचारका लागि स्थानीय घरेलु उद्योगले लाने गरेका छन् । अचार उद्योगका लागि लेटाङ नगरपालिकाले सहयोग गरिरहेको छ ।

कागती खेतीबाट राम्रो आर्थिक लाभ लिइरहेको देखेपछि वस्तीका छिमेकी वीरभक्त राईले पनि ३ विगाहामा नै व्यवसायिक कागती खेती शुरु गर्नुभएको छ । जाँतेको रुखो खेतमा बाली चयन गर्न सक्दा राम्रो आर्थिक लाभ लिन सकिने उदाहरण प्रस्तुत गरिरहनुभएका वस्तीलाई सिंचाईको समस्या छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?