logo
२०८१ बैशाख १२ बुधवार



कुसुन्डा बालिकाद्वारा महोत्सव उद्घाटन

पर्यटन |


कुसुन्डा बालिकाद्वारा महोत्सव उद्घाटन


प्रकाशचन्द्र भट्टराई
दमौली, फागुन ८ गते  । तनहुँको दमौलीमा आयोजना गरिएको व्यास नगर स्तरीय बहुजातीय साँस्कृतिक महोत्सवको नेपालकै लोपोन्मुख कुसुन्डा जातीकी बालिका सिमान्त कुसुन्डाले उद्घाटन गर्नुभयो ।

बुधबारदेखी सुरु उक्त महोत्सव विगतको परम्परालाई तोड्दै कुसुन्डा बालिकाको हातबाट उद्घाटन गरिएको महोत्सवको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान तनहुँकी अध्यक्ष सीता गुरुङले बताउनुभयो । औपचारिक कार्यक्रमको उद्घाटन सकेसम्म सार्वजानिक पदमा रहेका विशिष्ट व्यक्तिहरुबाट गराउने परम्परालाई आफुहरुले तोडेको गुरुङले बताउनुभयो ।

व्यास नगरपालिका–१० डिहीगाउँ निवासी ११ वर्षीया सिमान्त कुसुन्डाले पानसमा दीप प्रज्ज्वलन गरी उक्त महोत्सवको उद्घाटन गर्नु भएको थियो । तनहुँकै एकमात्र कुसुण्ड जातिका स्व. राजामामा कुसुन्डा र इन्द्रमाया कुसुन्डाका एक्ली सुपुत्री हुन् । कुसुन्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भईसकेको छ ।

व्यास नगरपालिका भित्र बसोबास गर्ने सबै जातजातीको कला र संस्कृती प्रर्दशन र प्रस्तुत गर्ने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । महोत्सवमा नगरपालिका भित्र बसोबास गर्ने १५ जातीको कला र संस्कृती प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

महोत्सवमा ब्राह्मण, क्षेत्री, नेवार, ठकुरी, दशनामी, रानाभाट, मगर, गुरुङ, दरै, कुमाल, चेपाङ, दुरा, बोटे, गन्धर्व, भुजेल र परियार जातिका मौलिक संस्कृति प्रस्तुत गरिने महोत्सवका प्रवक्ता एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति तनहुँका संरक्षक मेघनाथ रिमालले जानकारी दिनु भयो ।

जातीय एकता र सद्भाव कायम गरी नयाँ पुस्तालाई यसको जानकारी गराउने, विभिन्न जातजातिका लोक संस्कृतिको पहिचान गराउने, जातीय एकता कायम गराउने उद्देश्यसहित लोक सांस्कृतिक महोत्सव आयोजना गरिएको रिमालले बताउनुभयो ।

महोत्सवमा नेवार समुदायको कुमारी, मगर समुदायको झ्याउरे, क्षेत्री समुदायको रोइला, परियार समाजको नौमती र पञ्चेबाजा, गुरुङ समुदायको घाँटु, र खेगु, ब्राह्मण समुदायको भजन र बालन, गन्धर्व समुदायको तरबार र घटना नाच, भुजेल समुदायको झ्याउरे, बोटे समुदायको पाउदुरे, मगर समुदायको कौरा, दरै समुदायको घाँटु र फुलपाती, तामाङ समुदायको सेलो, लगायतका नाच प्रस्तुत गरिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?