logo
२०७७ असार ३१ बुधवार

ओखलढुङ्गामा: तीन वर्षमा ३४ को ज्यान गयो !

पढ्नै पर्ने |


2020-02-14-8668


मनोज भट्टराई

ओखलढुंगा, फागुन २ गते । २०७६ साल माघ १३ गते ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ सिद्धडाँडामा बोलेरो जीप दुर्घटना हुँदा बिरामी भएर उपचारकालागि सामुदायिक अस्पताल ओखलढुंगा हिँडेका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गयो ।

चालक सहित अन्य तीन जना गम्भीर घाइते भएका थिए । बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा घाईते तिन जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ पु-याउन परेको थियो ।

हरेक गाउँटोलमा पछिल्लो समय सडक सञ्जालले छोए पश्चात दुर्घटना पनि बढ्दैै गएको छ । दुर्घटनाबाट धेरैले अकालमै ज्यान गुमाइरहनुपरेको छ । कयौँ अंगभंग हुनुपरेको छ भने कैयौँको जीवन कष्टपूर्ण बनेको छ । असुरक्षाका कारण यात्राका क्रममा कुन बेला दुर्घटनामा परिएला कि भन्ने चिसो मनमा बोकेर हिँड्न यात्रुहरु बाध्य हुनुपरेको छ ।

आर्थिक वर्ष ०७३/०७४ देखि चालु आर्थिक वर्ष ०७६/०७७ को पौष मसान्त सम्मकोे अवधिमा ५८ सवारी दुर्घटना भएका थिए । विभिन्न सवारी दुर्घटनामा परि ३४ जनाको ज्यान गएको छ भने १ सय ७ जान घाईते भएका छन् । जिल्लामा दुर्घटनामा मृत्यु हुनेमा २३ पुरुष ९ महिला छन । दुर्घटनामा आधा भन्दा धेरै जीप रहेको प्रहरीको तथ्यांक छ ।

ओखलढुंगामा ठूलाभन्दा साना सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । तर ठूला सवारीसाधन दुर्घटना हुँदा भने धेरै मानवीय क्षती हुने गरेको छ । दुर्घटना हुनुको मुख्य कारण चालकको लापरवाही देखिएको छ । जिल्लामा भएका अधिकाँश दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिन्छ । योे अवधिमा चालकको लापरवाहीबाट ७१ प्रतिशत दुर्घटना भएको ओेखलढुंगाका ट्राफिक प्रहरी ईन्चार्ज पदमप्रसाद भटटरार्ईले बताउनुभयो ।

तिन वर्षको अवधिलाई हेर्ने हो भने ओखलढुङ्गामा पछिल्ला वर्षहरुमा सवाारी कार्वाही पनि उतिकैै बढेको छ । आर्थिक बर्ष २०७३/०७४ देखी २०७६/०७७ को पुस मसान्तसम्म ओखलढुंगामा १३ हजार २ सय ६४ सवारी साधन कार्वाहीमा परेका छन । आव २०७३/०७४ मा ३ हजार २ सय २३ सवारी कारवाहीमा परेका थिए भने आव २०७४/०७५ मा संख्या बढेर ३ हजार ८ सय ५० र आव २०७५/०७६ मा ४ हजार ४१ र चालु आव २०७६/०७७ को ६ महिनामा २ हजार१ सय ५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक पहरी कार्यालय ओखलढुंगाको तथ्याङ्कमा उल्लेख छ ।

सवारी कारवाही स्वरुपको राजस्व समेत वर्षेनी बढ्दै गएको देखिन्छ । प्रहरीले सवारी कारबाहीमा ओखलढुंगामा आव २०७३/०७४ मा २५ लाख ६६ हजार, आव २०७४/०७५ मा २१ लाख ८२ हजार, आर्थिक बर्ष २०७५/०७६ मा २४ लाख २९ हजार ५ सय र चालु आव २०७६/०७७ को ६ महिनामा २३ लाख ९८ हजार राजस्व संकलन गरेको छ ।

सवारीसाधनको दुर्घटनाको दोस्रो कारकको रुपमा तीव्र गति देखिएको छ । तिन वर्षको अवधिमा भएको दुर्घटनामा धेरै दुर्घटना तीव्र गतिका कारण भएको तथ्यांकमा उल्लेख छ । यस्तै, यात्रुको गल्ती, ओभरटेक, यान्त्रीक गडबडी, मदिरापान सेवन गरेर सवारी चलाउँदा दुघटना हुने गरेका छन् । भौगोलिक अवस्था, कमजोर सडक निति, चालकको लापरबाही नै सडक दुर्घटनाको मुख्य कारण रहेको भट्टराईले बताउनुभयो । दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर पुग्दैन । सरकार, निजी क्षेत्र तथा आम नागरिकको साथ र सहयोग उत्तिकै आवश्यक पर्ने र यी तीन पक्षको अवस्था खराब रहेकैले दुर्घटना कम होइन बढीरहेको देखिन्छ ।

चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरी चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुने देखिन्छ । चालकहरुले पनि सरकारले तयार पारेको मापदण्ड मान्दैनन्, ट्राफिक प्रहरी भने चालकलाई चेतना जगाउने काममा व्यस्त रहन्छ तर प्रहरी, चालक र यात्रु नियमभित्र नबस्दा दुर्घटना हुने गरेको यात्रुहरु बताउँछन ।

अझ ग्रामीण भेगमा चल्ने सवारीसाधनको अवस्था झनै खराब छ । एकातिर बाटो अप्ठ्यारो र गुणस्तरहीन छ अर्काेतिर भार धेरै बोक्नुपर्छ त्यसैमाथि गाडी पुराना रहेका छन् । दुर्घटना बढ्न यी कारणको भूमिका धेरै रहन्छ । सवारीसाधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना भएका उदाहरण पनि छन् । समय–समयमा अनिवार्य जाँच तथा परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका सवारीसाधनलाई हटाउने व्यवस्था मिलाउन सकियो भने दुर्घटना कम गर्न सकिन्छ ।

तराईबाट ओखलढुंगा, सोलुखुम्बु र खाटाङका लागि रात्रिकालीन बस चल्छन् । लामो दुरीका धेरै गाडीपनि एकजना मात्र चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । यही कारण गत असारमा ओखलढुंगााको मानेभञ्ज्याङमा ठुलो मानविय क्षति व्यहोर्नु पर्यो । सम्बन्धित निकाय सडकको सुरक्षामा संवेदनशिल हुन नसकेको र एक जनाले मात्रै १२/१३ घण्टासम्म लगातार चलाउनुपर्दा धेरै जसो दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । क्षमताभन्दा बढी भार बोक्नुले पनि जोखिम बढाइरहेको छ । सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सके पनि सडक दुर्घटना उल्लेख्य सुधार हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपालमा मानिसको मृत्युको चौथो कारणको रुपमा सडक दुर्घटना देखाएको छ । बर्षेनि नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक छ । यस्तै, नेपालमा दुर्घटनाबाट दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ । अहिले नेपालमा वार्षिक रुपमा झण्डै १६ लाख सवारी साधन र चालक विभिन्न कारवाहीमा पर्ने गरेका छन् । मादक पदार्थ सेवन, ट्राफिक नियम उल्लंघन, तीव्र गतिलगायतमा ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ । तर कारबाहीको स्वरुप खुकुलो हुँदा दुर्घटनाको दर नघटेको देखिन्छ । दुर्घटना न्युनिकरणका लागि कारबाही बापतको जरीवाना बढाउनुपर्ने आवश्यकता पनि भएको देखिन्छ । विकास र समृद्धिका कुरा गर्ने सरकारले अब सडक सुधार र विस्तारमा ध्यान दिनु जरुरी छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारी धनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकार छ । तर विभागले पनि भने जसरी काम गर्न सकेको छैन । दुर्घटनाका लागि पुराना तथा थोत्रा गाडी पनि मुख्य जिम्मेवार रहेको तथ्यांकले देखाउँछ । सवारीसाधनको सर्भिसिङ नगर्ने, धेरै लोड बोक्ने लगायत कारणले सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ । देश विकासको मेरुदण्ड सडक नै हो । सडक सुधार हुन सक्यो भने दुर्घटना पनि कम हुँदै जाने यो क्षेत्रका जानकारको भनाई छ । अहिलेसम्म बनेका सम्पूर्ण सडकको वर्गीकरण गरी नयाँ ढंगले सडक निर्माण र स्तरोन्नती गर्नु जरुरी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?