logo
२०८१ बैशाख ११ मंगलवार



प्रशिक्षक पटवाल राजिनामा दिएर स्वदेश फर्किदै

पढ्नै पर्ने |
खेलकुद |


प्रशिक्षक पटवाल राजिनामा दिएर स्वदेश फर्किदै


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १ गते । नेपाल क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवाल प्रशिक्षकबाट राजिनामा दिएर स्वदेश फित्र्ता हुन लाग्नुभएको छ । अमेरिका र ओमान सम्मिलित त्रिदेशीय श्रृखंलाको पूर्वसन्ध्यामा प्रशिक्षकबाट राजिनामा दिनुभएका पटवाल श्रृखंला सम्पन्न भएपछि स्वदेश फित्र्ता हुन लाग्नुभएको हो ।
नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षक पटवालको राजिनामा पुष्टि गर्नुहुँदै उहाँ शुक्रबार नै भारतको लागि प्रस्थान गर्नुहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छिट्टै नै आईसीसीसँग सहकार्य गरेर नयाँ प्रशिक्षकको व्यवस्थापनको प्रकृया अगाडि बढाइनेछ ।” क्रिकेट संघले तात्कालका लागि जगत टमाटालाई नै प्रशिक्षकको जिम्मेवारी नियुक्त गर्ने तयारी गरेको महासचिब प्याकुरेलले खुलाउनुभयो ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवम् अलराउण्डर पारस खड्काले सामाजिक सञ्जालमा पटवालको प्रशिक्षणमा क्रिकेटरको रुपमा विकसित हुन पाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले भविष्यमा सहकार्यको अपेक्षा समेत गर्नुभएको छ ।
नेपाल क्रिकेट संघ निलम्बनमा हुँदा पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपालको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । आईसीसीले २०७६ जेठ २० गतेदेखि लागू हुने गरी पटवाललाई एक वर्षका लागि प्रमुख प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको थियो । उहाँले आईसीसी समक्ष राजिनामा दिएर बोधार्थ राष्ट्रिय खेलकूद परिषद र नेपाल क्रिकेट संघलाई बुझाउनुभएको थियो । महासचिब प्याकुरेलले पटवालले आफ्नो व्यक्तिगत् कारणले राजिनामा दिनुभएको बताउनुभयो ।
उहाँसँग मासिक सात हजार अमेरिकी डलरमा अनुबन्धन गरिएको थियो ।
पटवालले नेपालको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुअघि सन् २०१८ मा यूएई विरुद्धको क्रिकेट श्रृखंलामा ब्याटिङ कन्सल्टेन्टको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । त्यसअघि उहाँले अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रुपमा नियुक्त हुनुभएको थियो । अफगानिस्तान टोलीका प्रशिक्षक हुँदा अलराउण्डर मोहम्मद नबी, समीउल्लाह शेनवारी र असगर निकजै जस्ता वरिष्ठ खेलाडीलाई प्रदर्शन सुधार्न पटवालको भूमिकालाई महत्वपूर्ण मानिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?