logo
२०८० चैत्र १६ शुक्रवार

  विकासले निम्त्याएको विकृति 



बाटो पुग्यो, कोक र मदिरा छ्यापछ्याप्ती भयो, पानीको संकट चुलियो

पढ्नै पर्ने |
समाज |


बाटो पुग्यो, कोक र मदिरा छ्यापछ्याप्ती भयो, पानीको संकट चुलियो


गोकर्ण दयाल
बैतडी, फागुन १ गते । गाउँमा सडकपुगेपछि कोकाकोला र मदिरा छ्यापछ्याप्ती पुगेको छ तर, खानेपानीको हाहाकार छ । छेउमै महाकाली बगे पनि पञ्चेश्वर–४, विनायक गाउँमा खानेपानीको हाहाकार छ । विनायक गाउँका महिला पानी भर्न गाउँबाट महाकाली नदी ओर्लिनु पर्ने वाध्यता छ ।

पञ्चेश्वर–४, विनायक गाउँका सीमा चन्द, कलावति चन्द र पार्वती चन्द गाउँमा खानेपानी नहुँदा महाकालीबाट पानी बोक्नु पर्दा नाम्लोले थाप्लोमा डाम बसेको पीडा सुनाउनुहुन्छ ।

गाउँमा खानेपानी छैन । वर्षौंदेखि महाकालीको धमिलो पानी बोकेर खानुपर्ने पीडा सुनाउँदै पार्वती चन्द गाउँमा सडक पुगेपछि छ्याछ्याप्ती मदिरा मात्रै भित्रिएको बताउनुहुन्छ । खानेपानी र गाउँमा सिँचाई नहुँदा कृषि पेशा गरे खान समेत मुश्किल भएको उहाँको गुनासो छ ।

बैतडीको पञ्चेश्वर मात्रै होईन, महाकाली नदी किनारमा बसोबाव गर्ने शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिका ६ को सेरा र १० को तिरखडेनी गाउँको पनि उस्तै पीडा छ । गाउँमा खानेपानी नहुँदा बाह्रै महिना महकालीबाट पानी बोकेर खानु पर्ने वाध्यता रहेको स्थानीय महिलाको गुनासो छ ।

दशरथ चन्द नगरपालिकाको शेरादेखि पञ्चेश्वर र शिवनाथ गाउँपालिकासम्म दुई हजार पाँचसय घरधुरी महाकालीको पानीमा निर्भर रहेको तटीय क्षेत्रका समुदायको पानी उपभोग सम्बन्धी काम गर्दै आईरहेको अक्सफाम नेपाल र रुडेस बैतडीको तथ्याङ्क छ ।

महाकालीको पानीको सदुपयोग गर्न बैतडीको दशरथ चन्द नगरपालिका–१०, तिरखडेनी गाउँमा सिँचाई पुर्याउन महाकालीबाट लिफ्ट सिँचाईको योजना निर्माण भईरहेको रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताउनुभयो ।

पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँमा खानेपानी र सिँचाईको समस्या रहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । विनायक गाउँको खानेपानीको समस्या समाधान गर्न संङ्घीय सरकारबाट खानेपानीको योजना बनाउने विषयमा एउटा टोली प्रारम्भिक सर्वेक्षण गरेर गएको अध्यक्ष चन्दले बताउनुभयो ।

स्थानीय तहले गाउँगाउँमा पर्यावरणीय अध्ययनविना सडक खनेपछि बैतडीका अधिकांश ठाउँमा खानेपानीका मुहान समेत सुकेका छन् । सडकले गर्दा खानेपानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले कुवा रिचार्ज गर्न आकाशे पोखरी नै बनाएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

गाउँमा सडक पुगेपछि कृषि उपज विक्री भएर जिल्ला बाहिर जानु पर्नेमा चाउचाउ, कोकोला र मदिरा भित्रिन थालेपछि ग्रामिण महिलाहरुलाई झन् पीडा थपिएको छ । गाउँका पुरुष रातदिन मदिराले लठ्ठिन थालेपछि महिलाहरुलाई थप कामको बोझ बढेको छ ।

गाउँमा छ्यापछ्याप्ती मदिरा पुगेपछि मदिरा पारखी पुरुषलाई साथ अचेल भारतीय पुरुषसमेत आउन थालेका छन् । भारतपारि मदिरा नपाईने भएकाले महकाली नदीमा डुङ्गा तरेर भारतीय पुरुषसमेत नेपाल आउन थालेका छन् । भारतीय पुरुष समेत दिनभरी मदिरा खाएर नेपालतिर हल्लिन थालेपछि भारतीय महिलाहरुलाई समेत तनाव गरेको बताएका छन् ।

पञ्चेश्व गाउँपालिका–४, विनायक गाउँमा मदिरा सेवन गर्न महाकाली नदी तरेर भारती पुरुष समेत गाउँमा आउने गरेको स्थानीय वीरेन्द्र चन्दले बताउनुभयो ।

महाकालीपारि भारतीय गाउँमा मदिरा नपाउने भएकाले हल्दुग्रामबाट भारतीय पुरुष नेपाल आएर मदिरा सेवन गर्न थालेपछि भारतीय महिला समेत पीडित बनेको हुल्दुग्रामकी भारतीय महिला खिमादेवी बताउनुहुन्छ ।

स्थानीय तहमा सडक पुगेपछि कृषि उत्पादन बढाएर गाउँभित्रिने गाडीमा दूध, तरकारी र फलफूलले गाडी भरिभराउ गरेर पठाउनुु पर्ने हो तर, यी विकल्प छोडेर गाउँमा व्यवसायिक कृषि गर्ने भन्दा मदिरा विक्री गर्ने लाइसेन्स लिनेहरु बढ्न थालेका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति बैतडीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७६÷२०७७ को साउन १ गतेदेखि माघ अन्तिम सातासम्मको तथ्याङ्क अनुसार बैतडीका १० स्थानीय तहमा ४७ जना नयाँ मदिरा व्यावसायीले ईजाजत पाएका छन् ।
पानीको बढी हाहाकार हुने स्थानीय तहमै मदिराको कारोबार गर्ने बढी ईजाजत वितरण भएको पाईएको छ । मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामै २४ वटा नयाँ मदिरा कारोबारको ईजाजत थपिएको छ ।
मदिरा सम्बन्धी बढीनै गुनासो आएकोले जिल्ला प्रशासन कार्यालय र सर्वदलीय सहमति अनुसार वडा कार्यालय र सम्बन्धित स्थानीय तहको सिफारिस विना अब नयाँ मदिराको ईजाजत नदिने सहमति भएको छ ।
सहमति विपरित स्थानीय तहको सिफारिस विना घरेलु तथा साना उद्योग विकास समितिले मदिराको नयाँ लाईसेन्स दिएको विरोधमा पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई गुहारेपछि यस्तो निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।
गाउँमा फल्ने अन्न उत्पादनले वर्षभरी खान नपुग्ने स्थानीय तहमा सडक पुगेपछि कृषि उपज बढाउने भन्दा मदिरा र कोकाकोला बेच्नेहरु बढ्न थालेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुशमा चन्दले बताउनुभयो ।
चन्दले भन्नुभयो, “मदिराका कारण म आँफै घरमा पीडित छु । यसअघि गाउँपालिकाले मदिरा बन्द गर्ने घोषणा गरेको हो । मदिरा बेच्ने कारोबारीहरु अदालत गएर मुद्दा जितेपछि अहिले गाउँमा जताततै मदिराको विगविगी छ । गाउँपालिकाको न्यायिक समितिमा मदिरा सेवन गरेर श्रीमान्ले कुटपिट गरेका घरेलु हिंसाका उजुरी बढ्न थालेका छन् ।”
शिवनाथ गाउँपालिका कुल ६ वटा वडामा ८४ वटा मदिरा कारोबार गर्ने व्यवसायी रहेका छन् । यो वर्ष गाउँपालिकाले नयाँ सिफारिस नगर्ने भने पनि थप आठ जनाले मदिराको ईजाजत लिएर आएको गाउँपालिका उपाध्यक्ष चन्दले बताउनुभयो ।
घरेलु तथा साना उद्योग विकास समितिले चालू आर्थिक वर्षको साउनदेखि माघसम्म दशरथ चन्द नगरपालिकामा आठवटा मदिरा विक्री गर्ने लाईसेन्स दिएको छ । त्यसैगरि मेलौली नगरपालिकामा १०, सिगास गाउँपालिका पाँच, सुर्नया गाउँपालिकामा पाँच, शिवनाथ गाउँपालिका आठ, पञ्चेश्वर गाउँपालिकामा छ, दोगडाकेदार गाउँपालिकामा तीन, पाटन नगरपालिकामा दुई, गरि जम्मा ४७ वटा मदिरा विक्री गर्ने नयाँ ईजाजत दिएको तथ्याङ्क रहेको छ ।
दुईलाख ५० हजार जनसंख्या रहेको बैतडीमा १० वटा स्थानीय तह रहेका छन् । चार नगरपालिका र छवटा गाउँपालिका रहेको बैतडी जिल्लामा ८४ वडा रहेको छन् । गाउँ जाँदा वडैपिच्छे पाँच÷सातवटा मदिरा पसल देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?