logo
२०८० चैत्र १६ शुक्रवार



छोरी शिक्षा बिमाप्रति आकर्षण दस दिनमा पाँच हजार छोरी बिमित

पढ्नै पर्ने |


छोरी शिक्षा बिमाप्रति आकर्षण दस दिनमा पाँच हजार छोरी बिमित


धर्बेन्द्र झा

जनकपुरधाम, माघ १४ गते  । प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ । यही माघ २ बाट प्रदेशका आठवटै जिल्लामा सञ्चालन भएको शिविरमार्फत अहिलेसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् ।
२०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रका अनुसार यही माघ १० सम्ममा पाँच हजार ४० छोरीको बिमा गरिएको छ ।
सप्तरी जिल्लामा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरीमा ६४५, सर्लाहीमा ७६८, रौतहटमा ४६२, बारामा ८०५ र पर्सामा ४६३ छोरीले शिविरमार्फत बिमा गराएको उहाँले बत(ाउनुभयो  । बिमाका लागि आवश्यक जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुवाको नागरिकता र बच्चा तथा अभिभावकको ६÷६ थान फोटो आवश्यक हुन्छ । यति प्रमाण भएपछि प्रदेश सरकारले शिविरमार्फत बिमाको व्यवस्था गरेकोे छ ।
शिविरमा प्रभु बैङ्कका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरू, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शङ्कर सुवेदीले बताउनुभयो ।
मुख्यमन्त्री लालबाबु राउतले माघ २ गते
पर्साको वीरगन्जबाट र अन्य सात जिल्लामा मन्त्रीहरूको विशेष उपस्थितिमा एकसाथ सुरु गरिएको शिविर आउँदो फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालन हुने सचिव सुवेदीले बताउनुभयो  ।
यसका साथै शिविरमा बिमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेको बताइएको छ । यसैबीच सप्तरीको तीन नगरपालिका र एक गाउँपालिकामा यो शिविर सम्पन्न भएको छ । शिविरमा हालसम्म ८४४ बालिकाको शिक्षा बिमा÷मुद्दती खाता खोलिएको अभियानका सामाजिक सुरक्षा जिल्ला संयोजक पुनम
चौधरीले जानकारी दिनुभयो ।
बोदेबरसाइन नगरपालिकामा १८४, डाक्नेश्वरी नगरपालिकामा २७६, हनुमाननगर कङ्कालिनी नगरपालिकामा २९३ र अग्निसाइर कृष्णसवरण गाउँपालिकामा १२१ गरी ८४४ बालिकाको निःशुल्क मुद्दती खाता सञ्चालन भएको चौधरीले बताउनुभयो । शिविर जिल्लाका १८ वटै स्थानीय तहमा गर्ने गरी एकमहिने कार्यक्रम सार्वजनिक गरिएको छ । उहाँले भन्नुभयो, “नगरपालिकामा दुई÷दुई दिन र गाउँपालिकामा एक÷एक दिन शिविर आयोजना हुन्छ । आउँदो फागुन ४ गते तिलाठी कोइलाडीमा शिविर अन्तिम हुन्छ ।”
बिमा गरिएका बालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण भइरहेको बताइएको छ । बालिकाको २० वर्षपछि उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने उद्देश्यले अहिले जन्मिने बालिकाको एक लाख
२५ हजार रुपियाँको बीमा भइरहेको छ ।
बिमा प्रिमियमस्वरूप एकमुष्ठ १४ हजार ६४७ जम्मा गर्नुपर्ने पनि बताउँदै उहाँले तीमध्ये मुख्यमन्त्रीको कार्यालयले १३ हजार ६४७ र सम्बद्ध बैङ्कले एक हजार रुपियाँ जम्मा गरिदिने प्रावधान रहेको बताउनुभयो । अहिले गरिएको बिमा रकमबाटै बालिकाले २० वर्षपछि एक लाखभन्दा बढी रकम पाउने र सो रकमबाट उच्च शिक्षा हासिलमा सहयोग पुग्ने अपेक्षा छ ।
त्यसैगरी सर्लाहीको साविक लालबन्दी, पत्थरकोट र जब्दीका लागि लालबन्दी नगरपालिकाको कार्यालय परिसर, परवानीपुर र रानीगन्जका लागि रानीगन्ज वडा कार्यालय र नेत्रगन्जका लागि नेत्रगन्ज वडा कार्यालयमा शिविर आयोजना गरी छोरीको शिक्षा बिमा गरिएको छ ।
नगरपालिकाको अति विकट क्षेत्रमा पर्ने साविकको नारायणखोला अर्थात् हालको वडा नम्बर १४ मा भने यही माघ १८ गते त्यहीँ गएर छोरीको शिक्षा बिमा गर्न शिविर आयोजना गरिने छ । विकट गाउँका बासिन्दालाई सहज होस् भनी त्यहीँ गएर खाता खोल्ने व्यवस्था मिलाउन लागिएको हो । शिविरमा नगरपालिका आफैँले अभिभावक र छोरीहरूको छ÷छ प्रति फोटो निःशुल्क रूपमा खिचेर उपलब्ध गराइरहेको छ भने खाता सञ्चालन हुने प्रभु बैङ्कका प्रतिनिधिसँगै राखेर खाता खोल्ने गरिएको सो नगरपालिकाले जनाएको छ ।

(राजविराजबाट धीरेन्द्रप्रसाद साह र सर्लाहीबाट जनार्जन खत्रीको सहयोगमा ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?