logo
२०८० चैत्र १६ शुक्रवार



सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु

अन्तर्राष्ट्रिय |


सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु


वासिङ्टन, माघ ३ गते । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ ।
बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन् ।

प्रधानन्यायाधिश जोहन रोबर्टसले सुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराउनु भएको थियो । माथिल्लो सदनका कुल १०० सदस्यहरु मध्ये ९९ जनालाई उहाँले सपथग्रहण गराउनु भएको हो ।
सपथग्रहण गर्ने सवैले सपथग्रहणका क्रममा “पक्षपात रहित न्याय” गर्ने कसम खाएको समाचारमा जनाइएको छ । उनीहरुले महाअभियोग प्रस्ताव माथी स्वविवेकले आफ्नो मत जाहेर गर्ने बताएका थिए ।
महाअभियोग प्रस्तावमाथी माथिल्लो सदनमा आगामी मङ्गलबारदेखि प्रधानन्यायाधिश रोबर्टसको अध्यक्षतामा सुनुवाई हुनेछ ।

सुनुवाईका क्रममा दुवै पक्षले आ आफ्नो पक्षमा तर्क र प्रमाणहरु पेस गर्दै आफ्नो पक्ष सही भएको दाबी गर्ने भएका छन् ।
हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेकाले बिहीबारदेखि माथिल्लो सदनमा प्रक्रिया सुरु भएको हो ।
माथिल्लो सदनमा ट्रम्पविरुद्धका आरोपहरू पढेर सुनाइएको थियो । आरोपपत्रमा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्गन गरेको, शक्तिको दुरुपयोग गरेको, कङग्रेसको प्रक्रियामा अवरोध पु¥याएको लगायतका आरोपहरु उल्लेख गरिएको छ ।

आरोपपत्रमा उल्लेखित सवै आरोपको राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्दै खण्डन गर्दै आउनु भएको छ । सिनेटबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने प्रावधान रहेको छ ।

माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको संख्या धेरै रहेकाले पार्टीको लाईनअनुसार मतदान भएमा महाअभियोगको पक्षमा दुई तिहाइ पुग्ने संभावना कम देखिएको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले भने रिपब्लिकन सिनेटरहरूलाई राष्ट्रपतिका ’अन्धसमर्थक’ नबन्न र स्वविवेक प्रयोग गर्न आह्वान गर्नुभएको छ ।
उहाँले महाअभियोग सम्वन्धी कागजपत्रले राष्ट्रपति ट्रम्पले गलत काम गरेको पुष्टि भएको दाबी गर्दै उहाँलाई गलत कामप्रति जवाफदेही बनाउन महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भविष्यमा पनि कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न नसक्ने गराउनका लागि पनि अहिले महाअभियोग लगाउनु पर्ने तर्क गर्नुभयो ।
तर ट्रम्पका समर्थक तथा रिपब्लिकन सांसदहरूले भने महाभियोग प्रक्रियालाई ‘पक्षपातपूर्ण आक्रोशबाट प्रेरित कदम’ को संज्ञा दिदै आएका छन् ।
हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?