logo
२०७६ माघ १२ आईतवार

एकपटक हेर्नैपर्ने मेलाः तारुकामा गोरुजुधाईको रोचक परम्परा

पढ्नै पर्ने |
समाज |


2020-01-15-7116
गतवर्ष तारुकामा भएको साँढेको घम्साघम्सी । तस्वीरः रामहरि गजुरेल / नुवाकोट


रामहरि गजुरेल

नुवाकोट, माघ १ गते । आज माघे सङ्क्रान्ति पर्व अर्थात मकर सङ्क्रान्ति । घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्वका दिन आज नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकामा भने नेपालमै फरक विषेशता बोकेको गोरु जुधाई मेलाको बेग्लै रौनक छाउने गर्छ । माघे संक्रान्तिलाई यहाँ जिब्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित राखेको छैन, सयौँ वर्षदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरु जुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ ।

तर, धेरैका लागि यो गोरु जुधाई भिन्न, नौलो र रोचक छ । नेपालमै गोरुजात्रा हुने एकमात्र थलो तारुकामा विगत एक सय ५० वर्षभन्दा लामो समयदेखि स्थानियहरुले निरन्तर परम्पराको रुपमा मनाउँदै आइरहेका छन् । यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा २२ हल साँढे जुधाउने कार्यक्रम छ । लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको गोरु जुधाई मेला व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर भण्डारीले जानकारी दिनुभयो । उनले गोरु जुधाइका क्रममा मरिहाल्यो भने रु ५० हजार दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पार्नुभयो ।

यस्तो छ गोरु जुधाईको इतिहास

गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई तारुकामा पर्ने चन्दनीडाँडामा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघे सङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । यही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागि समेत मनोरञ्जनको माध्याम र खेल जात्रा बनेको हो ।

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको यहाँको साँढे जुधाईले स्पेनको त्यो बुलफाइट बिर्साउँछ र थप रोचक बनाउने मात्र नभई मुुलुकका साथै विदेशमा समेत उत्तिकै चर्चा बटुल्न सफल भएको छ । यहाँको सदियौँ पुरानो ऐतिहासिक चिनारी बोकेको गोरु जुधाईको परम्परा । तैपनि राजधानी काठमाण्डौंसँगै जोडिएको नुवाकोटको तारुकाका लागि भने यो मौलिक परम्परा बनिसकेको छ । दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्डपर्वमासमेत घर नफर्कनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाटको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ ।

खेल पर्यटन फरक शैली

तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको गतिलो माध्याम हुनसक्ने स्थानिय र अन्य पर्यटन व्यवसायीहरुको दावी छ । अन्तराष्ट्रिय स्तरमा मनोरञ्जनको अनुपम खेल सौगात मानिने गोरु जुधाउने परम्पराको यहाँ भने अझैँ प्रचार हुन बाँकी छ ।

स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु यो गोरुजात्राको महत्वलाई प्राथमिकता दिने क्रम बढेपछि धेरै जिल्लाबाट दर्शककोे उपस्थिती र रौनक बढेको देखिन्छ । खेल पर्यटनको रुपमा समेत विकास हुँदै गरेको यो जात्रा स्वदेशी तथा विदेशी पर्यटकका उचित गन्तव्य त बनेकै छ । अझ विषेश गरी नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन, मकवानपुर र काठमाण्डांैवासीका लागि अनिवार्य पर्व जस्तै बनिसकेको यहाँ वर्षेनी झुम्मिने दर्शकहरुको चापले नै पुष्टि गर्छ ।

अव्यवस्थित रुपमा गोरु जुधाइने जात्राको पूरानो शैली अहिले पूरै बदलिएको छ । आन्तरिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले अघिल्ला वर्षमा भन्दा यसपटक पूरानो शैलीलाई विकास गर्दै मेलालाई व्यवस्थित बनाइएको तारुकाका नेता राजेन्द्र न्यौपानेले बताउनुभयो । अघिल्ला वर्षहरुमा जित्ने गोरु धनीलाई केही रकम पुरस्कारको रुपमा दिइन्थ्यो भने यसपटक एक आपसमा जुधेका गोरुमध्ये जुनले जित्छ, त्यहीसँग हारेको गोरु दिइने नियम बनेको छ । जुधाउन ल्याइएका गोरुले प्रतियोगिता जितेमा गाउँमा वर्षैभरि आफ्नो चर्चा भैरहने भण्डारीको भनाई छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् ।

गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् । ‘तारुकाको गोरुजात्रा मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक साँस्कृतिक परम्पराको सम्पति हो, यसको पर्यटकिय पवद्र्धनमा सबैको सक्रियता चाहिन्छ’, सोही ठाउँमा जन्मिएर राष्ट्रिय स्तरमा स्थापित पत्रकार विष्णु तारुके बताउनुहुन्छ । यो जात्रालाई व्यापक प्रचार प्रसार गरी विकास गर्न पत्रकार तारुकेले ठूलो भुमिका खेल्नुभएको छ ।

आाफुले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेका अमरबहादुर भण्डारीले मेलामा जुधाउन ल्याएको साँढे देखाउँदै भन्नुभयो, ‘आफुले रुखोसुखो खाएर त्यसलाई मिठोमसिनु खुवाएर माघेसङ्क्रान्तिमा जुधाउनकै लागि ।’

कसरी पुग्ने तारुका ?

तारुकाको बुलफाइट हेर्न जानको लागि काठमाण्डौंबाट दुईवटा रुट प्रयोग गर्न सकिन्छ । पहिलो काठमाण्डौंको कलंकी हुँदै धादिङको गल्छी भएर जान सकिन्छ । दोस्रो रुट भनेको बालाजुबाट ककनी हुँदै विदुर नगरपालिकाको देविघाटबाट पनि पुग्न सकिन्छ । तर, पहिलो रुट गल्छी हुँदै जान तारुका पुग्न सजिलो र छिटो हुनसक्छ । काठमाण्डौंबाट गल्छी हुँदै त्यहाँबाट अर्को बाटो तय गर्नुपर्ने हुन्छ । आफ्नो सवारी साधन नहुनेका लागि यहाँबाट बस तथा माइक्रोबस लाग्छन्, त्यसैमा जान सकिन्छ ।

आफ्नो साधन भएकाहरुलाई कुनै झन्झट नै भएन । दायाँतर्फबाट त्रिशूली जाने बाटो तय गरेपछि तारुकाको गोरुजुधाई हुने गाउँको तल्लो भाग त्रिशूली किनारै किनार करिब ५ किलोमटरको सडक यात्रापछि तारुकाघाट पुग्न सकिन्छ । राजधानीबाट ५७ किलोमिटर दूरिमा पर्ने तारुकावेंशीमा सवारी साधनमै पनि मेलास्थलसम्म नै जान सकिन्छ । पहिले पक्ककी पुल नहुँदा समस्या रहेपनि अहिले पक्की पुल निर्माण भएपछि उक्त समस्या छैन । निजी सवारी नहुनेका लागि पनि मेलास्थल पुग्न पारीतर्फ गाडीहरु तयारी अवस्थामा भेटिन्छन् । ति पनि मेलास्थलसम्मै पुग्छन् । अर्कोतर्फ वेंशीबाट बसबाट ओर्लेपछि पैदल हिँडेरै गएपनि पहाडी उकालो बाटो करिब एक घण्टा पैदल हिँड्नुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?