logo
२०८१ बैशाख १३ बिहीवार



धान खरिदको कोटा बढाउन किसानको माग

पढ्नै पर्ने |
अर्थ |


धान खरिदको कोटा बढाउन किसानको माग


नेपालगञ्ज, पुस १४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित अञ्चल कार्यालयले निर्धारित कोटा अनुसार ३५ हजार क्विन्टल धान खरिद गर्दा पनि धेरै किसान धान बिक्रि गर्न लाममा लागेकोले ५ हजार क्विन्टल कोटा थप गरिएको छ । थप गरिएको कोटा निकै कम भएको पालो आउने प्रतिक्षामा रहेका किसानले अझै कोटा बढाउन माग गरेका छन् ।

कम्पनीले ३५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर गत कात्तिक २७ गतेबाट धान खरिद गर्न शुरु गरेको थियो । तर, यस पटक सरकारले राम्रो मूल्य निर्धारण गरेपछि जिल्लाका सबै किसान कम्पनीमै धान बिक्रि गर्न आएका छन् । सोही कारणले कोटा अनुसारको खरिदको लक्ष्य समय भन्दा पहिले पुरा भएपछि किसानको आग्रहमा केन्द्रले ५ हजार क्विन्टलको कोटा थप गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित अञ्चल कार्यालयका प्रमुख भरतराज खनियाले बताउनुभयो ।

उहाँले अझै धेरै जना किसान लाममै रहेकोले थप गरिएको कोटासहित ४० हजार क्विन्टल धान खरिद गर्नु पर्ने मध्ये सोमबारसम्म ३८ हजार क्विन्टल धान खरिद गरिसकिएको बताउनु भयो । उहाँले अझैपनि कम्पनीको हाताभित्र करिब २ हजार क्विन्टल धान बोकेका गाडी र लढिया रहेको तथा बाहिर पनि लामो लाम लागेको बताउनुभयो ।

कोटा कम र किसान धेरै भएकोले सोमबार साँझसम्म कम्पनीको हाताभित्र प्रवेश गरेका गाडीको मात्र धान खरिद गरिने तथा मंगलबारदेखि हाताभित्र प्रवेश निषेध गरिएको सूचना टाँस गरिसकिएको बताउनुभयो । उहाँले ४० हजार क्विन्टल धान खरिद गरिसकेपछि केन्द्रमा थप कोटा बढाउन आग्रह गरिने जनाउँदै स्विकृत हुने नहुने थाहा नभएको बताउनुभयो ।

उता, धान बिक्रिका लागि कम्पनीको गेटमा पालो पर्खिएर लाम लागेका बाँके खजुराका किसान धनबहादुर थापाले अझै धेरै किसान बाहिर रहेको र आउने क्रम पनि जारी नै रहेकोले कम्तीमा १० हजार क्विन्टलको कोटा थप गर्नु पर्ने माग गर्नु भएको छ ।

बजारमा व्यवसायीले कम मूल्य दिईरहेको कारण आफु कम्पनीमा बिक्रिका लागि आएको जनाउँदै उहाँले कम्पनीले धान खरिद नगर्ने हो भने किसानलाई ठुलो घाटा हुने बताउनुभयो ।

सोही प्रकारको माग एक सातादेखि पालो कुरेर बस्नु भएका नौबस्ताका किसान श्याम कुमार थारुले गर्नुभयो । उहाँले बजारमा सस्तोमा विक्रि भैरहेकोले नै यति टाढा विक्रिका लागि आएको जनाउँदै कोटा सकिएको नाममा खरिद नगरे आफु समस्यामा पर्ने बताउनुभयो ।

यस वर्ष बाँके र बर्दियाका लागि मोटा धान प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ६७३ रुपैयाँ मा खरिद गर्न मूल्य निर्धारण गरिएको छ । गत बर्षको भन्दा यस बर्षको मूल्य प्रति क्विन्टल तीन सय रुपैयाँ बढी निर्धारण गरिएको छ ।

यसैबीच गोदाम अभावमा खुला मैदानमा राखिएको धान कुटाईका लागि मिलमा पठाउन थालिएको कम्पनीको नेपालगञ्जस्थित कार्यालयलले जनाएको छ । १८ हजार क्विन्टल धान हालसम्म बर्दियाको मैनापोखरस्थित राधाकृष्ण धान मिलमा कुटाईका लागि पठाईसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख खनियाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?